असोज १५, पहिलो नेपाल – सन् २०२१ को लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी)का लागि आवेदन खुलेको छ । बुधबार मध्याह्न १२ बजेदेखि खुलेको अनलाइन आवेदन ५ नोभेम्बर २०१९ मध्याह्न १२ बजे बन्द हुने छ ।
यस वर्ष आवेदन फारम भर्दा पासपोर्टओ नम्बर, पासपोर्टको म्याद र इमेल ठेगाना अनिवार्य गरिएको छ । एक व्यक्तिले एकपटक मात्र आवेदन दिन सक्नेछन् । एकभन्दा बढी पटक आवेदन फारम भर्ने व्यक्ति डीभीका लागि अयोग्य ठहरिने छन् ।
आवेदन फारम भर्न कुनै शुल्क लाग्दैन । डीभीको अनलाइन फारम आफैंले भर्न र फारम भरिसकेपछि प्राप्त हुने कनफर्मेसन नम्बर सुरक्षित राख्नु पर्ने छ । नतिजा सार्वजनिक भएपछि त्यही कन्फर्मेसन नम्बरको आधारमा आफूलाई डीभी परे/नपरेको थाहा हुन्छ ।
भारत र पाकिस्तानसहित १७ देशका नागरिकले डीभी भर्न नपाउने
नेपालीहरुले डीभीको आवेदन फारम भर्न सक्छन् । भारत, पाकिस्तान, बंगलादेशसहित १७ देशका नागरिकहरुले भने डीभीको फारम भर्न पाउने छैनन् ।
डीभीको आवेदन दिन नपाउने देशहरुमा चीन (मुख्य भूमिमा जन्मिएका), ब्राजिल, क्यानडा, कोलम्बिया, डोमिनिक रिपब्लिक, एल साल्भाडोर, ग्वाटेमाला, जमैका, मेक्सिको, नाइजेरिया, फिलिपिन्स, दक्षिण कोरिया, बेलायत (उत्तरी आयरल्याण्ड बाहेक) र भियतनाम छन् ।
किनभने यी देशहरुका ५० हजार नागरिकलाई डीभी परिसकेकाले निवेदन दिन नपाउने भएका हुन् । तर, चीनको मुख्य भूमिमा जन्मिएका बाहेक हङकङ, मकाउ र ताइवानका बासिन्दाले भने डीभी भर्न पाउने छन् ।