असोज १८, पहिलो नेपाल – संसद् सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी रोशनी शाहीले निवर्तमान सभामुख कृष्णबहादुर महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी छन् ।
शनिबार पीडित रोशनी स्वयम् महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पुगेर तत्कालीन सभामुख महराविरुद्ध बलात्कार प्रयासको कसूरमा किटानी जाहेरी दिएकी हुन्। किटानी जाहेरी शनिबार दर्ता भएकाले थप कारबाही प्रक्रिया आइतबारबाट अगाडि बढ्नेछ ।
गत आइतबार राति महराले रोशनीको कोठामै गएर यौन दुर्व्यवहार गरेको विषय सार्वजनिक भएपछि सोमबार दिउँसो उनले सभामुख पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भइसकेको छ । तर सांसद पदबाट भने राजिनामा दिएका छैनन् ।
किटानी जाहेरीपछि उनीमाथिको छानबिन प्रक्रिया अगाडि बढाउन महरालाई सांसदबाट निलम्बन गराइने छ। अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रहरीले महरा र पीडित रोशनी तथा बरामद सामानको फरेन्सिक जाँचको तयारी समेत गरेको छ ।
महरा प्रकरणको विषयमा शनिबार बिहान गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालबीच कुराकानी पनि भएको थियो ।