असोज २७, पहिलो नेपाल – जापानमा आएको ‘हागिबिस’ आँधीका कारण २५ जनाको मृत्यु भएको छ । राजधानी टोक्यो लगायतका ठाउँमा आएको आँधीपछि करिब १५ जना हराइरहेका अधिकारीले बताएका छन् ।
आँधीसँगै आएको वर्षाका कारण कैयौँ नदीमा बाढी आएकोले नदीको पानी बस्तीमा पसेको छ । आँधीका कारण ३ लाख ७६ हजार घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको र १४ हजार घरमा खानेपानीको अभाव भएको छ ।
सरकारले आँधीपछि २७ हजार स्वयंसेवकलाई उद्धार र राहतका लागि खटाएको जनाएको छ । भू–संरचना, यातायात तथा पर्यटन मन्त्रालयले आँधीपछि विभिन्न १२ राज्यका कम्तीमा ४८ स्थानमा पहिरो गएको र २१ नदीमा बाँध फुटेका कारण ठूलो क्षति भएको उल्लेख छ ।
हागिबिस आँधी जापानको होन्सु द्वीपमा शनिबार साँझ ७ बजे प्रवेश गरेको थियो । पछिल्लो वर्षमा यो निकै शक्तिशाली आँधी हो । यो आँधी प्रतिघण्टा २१६ किलोमिटरभन्दा बढीको वेगमा थियो ।
आँधीको प्रभाव सबैभन्दा धेरै नागानो राज्यमा परेको छ । अधिकारीले आँधीपछि नागानो र छिमेकी राज्यका शहरहरूका बासिन्दालाई सुरक्षाका लागि अझै सावधानी अपनाउन निर्देशन गरेका छन् । मन्त्रालयका अनुसार कतिपय बस्तीहरूमा बाढीको पानी करिब पाँच मिटरसम्म जमेको बताइएको छ भने त्यहाँका बासिन्दाले उद्धारका लागि घरका तलाबाट हात हल्लाएर अनुरोध गरेका भिडियोहरू टेलिभिजन तथा सामाजिक सञ्जालमा देखिएका छन् ।
नागानो क्षेत्रमा चल्ने जापानका बुलेट रेलहरूसमेत डुबानका कारण अवरुद्ध भएका छन् । रेल कम्पनीका अनुसार १० वटा रेलका १२० डब्बामा क्षति पुगेको छ । जापानको मौसम विज्ञानसम्बन्धी निकायले तोक्यो र प्रभावित १२ वटै राज्यमा भारी वर्षा हुने सम्भावना रहेको बताउँदै नदी वरपरका क्षेत्रमा सतर्क बन्न सूचना जारी गरेको छ । आइतबारसम्म तुफानको प्रभाव कम भएको बताइएको छ ।
(अन्नपूर्ण पोस्टको सहयोगमा )