असोज २७, पहिलो नेपाल – २०६४ चैत २७, दिनको २ बजे नेपाली कांग्रेससँग सम्बद्ध स्थानीय नेताहरु श्रीनारायण सिंहको घरमा पुग्छन्। ऐतिहासिक संविधानसभाको चुनावको अघिल्लो दिन थियो– त्यो दिन। उनीहरुले सिंहका छोरा त्रिलोकप्रताप सिहलाई ‘नेताजीले बोलाउनुभएको छ’ भन्दै चुनावको प्रचारप्रसारमा सलग्न हुन भन्छन्। ती नेताजी अरु कोही नभई काग्रेस नेता मोहम्मद आफताव आलम हुन्।
श्रीनारायणका लागि, जो अहिले ७० वर्ष नाघिसकेका छन्, आफ्नो २२ वर्षीय छोरालाई चुनावी अभियानमा संलग्न गराउने निर्णय गर्न सजिलो थिएन। उनी अन्योलमा थिए। चुनावका लागि केही घण्टा मात्र बाँकी थियो। स्थानीय कांग्रेस नेतृत्व मतदातालाई आकर्षित गर्न भरमग्दुर प्रयासमा थियो। सुरुमा उनले छोरो त्रिलोकलाई चुनावमा संलग्न गराउन आनाकानी गरे पनि कांग्रेस नेता आलमकै जोडबलमा अन्ततः चुनाव प्रचारप्रसार टिममा सहभागी हुने अनुमति दिए। यसरी आलमकै दबाबमा गाउँमा पिन्टु भनेर चिनिने त्रिलोकप्रताप चुनावी प्रचारप्रसारमा सहभागी भए।
त्रिलोकका पिता श्रीनारायणलाई धेरैपछि मात्र थाहा भयो कि उनका छोरालाई चुनावी बुथहरु र प्रतिपक्षी उम्मेदवारका घरमा बम बिस्फोट गर्ने अभिप्रायले बम बोक्ने कामका लागि प्रचासप्रसार टिममा समावेश गराइएको रहेछ। बम बिस्फोट गराएर मतदातामा डर पैदा गर्ने र बुथ कब्जा गर्ने नियत आलमको थियो।
बम बनाउने काम स्थानीय शेख इन्डियासको गोठमा गरिएको थियो। पिन्टुसहित अर्का युवा ओसी अख्तरलाई यो काममा संलग्न गराइएको थियो। त्यो टिममा सहभागी भएपछि त्रिलोकसँगै अख्तर पनि कहिल्यै घर फर्केनन्।
त्यस दिन साँझ ढिलोसम्म छोराहरु घर नफर्केपछि उनीहरुको सोधखोज भएको थियो। धेरै प्रयास गरिए पनि कुनै जानकारी प्राप्त हुन सकेन। त्रिलोकका परिवारको चिन्ता त्यतिबेला झन् बढ्यो जतिबेला गाउँलेले त्यही रात बम बिस्फोटको ठूलो आवाज सुनेको बताए। स्थानीयका अनुसार त्यो बिस्फोट निकै शक्तिशाली थियो। बिस्फोटको सूचना पाएपछि छिमेकी लिएर राजपुर फरदवा पुगेका थिए श्रीनारायण। घटनास्थल गाउँबाट दुई कोेष टाढा थियो। उनीहरु घटनास्थलनजिक पुगे। त्यतिबेलाका प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने (जो पछि टीकापुर झडपमा मारिए) लगायत सशस्त्र प्रहरीका जवान कुनै पनि अपरिचितलाई उक्त गाउँ पस्न नदिने उद्देश्यले तैनाथ थिए। उक्त गाउँमा रहेको इँटाभट्टामा बिस्फोटमा मारिएका र घाइतेलाई जलाइएको आशंका थियो।
श्रीनारायण र उनका छिमेकीलाई उक्त गाउँमा जान दिइएन तर बम बनाउने क्रममा भएको विस्फोटमा त्रिलोक र अन्य एक नेपाली तथा २० जना भारतीयको मृत्यु भएको जानकारी दिइयो। चुरोटको आगोले सल्किएर बनाउन लागेका बम बिस्फोट भएको आशंका छ। त्यतिबेला उनीहरु बम बनाउँदै चुनावी बुथहरु र प्रतिपक्षी उम्मेदवारका गढहरुमा कसरी पड्काउने भन्ने विषयमा छलफलमा पनि गर्दै थिए।
अचानक बिस्फोटपछि गौर अस्पतालबाट डाक्टरहरु झिकाएर घाइतेको उपचार पनि गरिएको थियो। त्रिलोक घाइतेमात्र भएका थिए। उनको मृत्यु भैसकेको थिएन भन्ने थियो। तर मरिसकेका र घाइते आठजनासहित २२ जनालाई घटना ढाकछोप गर्ने उद्देश्यले घिसारेर इँटाभट्टामा फालिएको थियो।
घटनाको केही सातापछि, नेपाल बार एसोसियसन, इन्सेकका प्रतिनिधि र मानवअधिकारकर्मी घटनास्थल पुगेका थिए। उनीहरूले प्रहरी उपरीक्षक न्यौपानेसँग सोधपुछ गरेका थिए। स्थानीय प्रशासन र अदालतले सो हत्या सम्बन्धमा कुनै निवेदन लिनसमेत इन्कार गरेका थिए। यही कारणले रुक्साना खातुन र श्रीनारायण न्यायका लागि दोषीलाई कारबाही गरी पाऊँ भन्ने निवेदनसहित सर्वाेच्च अदालत पुगेका थिए। अदालतले आलम र अन्य दोषीलाई पक्राउ गरी घटनाको अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाउन आदेश दिएको थियो। त्यसो हुँदाहुँदै पनि प्रहरीले उनीहरु फरार रहेको बताउँदै पक्राउ गरेको थिएन।
जबकी त्यतिबेला आलमको प्रहरीसँग नियमित उठबस थियो। आलम र उनका भतिजा महताव आलम (जसलाई मुस्ताक राजा) भनेर सबैले चिन्थे) लाई हत्याको आरोप र घटनाका प्रमाण नस्ट गरेको अभियोग लागेको थियो। केही समयपछि तत्कालीन एमालेमा प्रवेश गरेका मुस्ताक राजाले रौतहटबाट प्रदेशसभा सदस्यको चुनावमा समेत उम्मेदवारी दिएका थिए।
चुनावबाट मोहम्मद सविधानसभा सदस्यमा निर्वाचित भए। मन्त्रिमण्डलमा समेत उनी समावेश भए। स्थानीय प्रशासन उनीविरुद्धको कारबाहीलाई कल्पना गर्नसमेत तयार थिएन। त्यहीबीचमा सर्वाेच्च अदालतमा न्यायका लागि निवेदन दिने रुक्साना रहस्यमय हिसाबले मारिइन्। नेपालमा कुनै कानुन नभएको र न्याय नपाइने भनेर निरास भैसकेका थिए पीडितहरु। उनीहरु राजाको शासनमा समेत यस्तो नभएको गुनासो गर्थे। त्यतिबेला कृष्ण सिटौला गृहमन्त्री थिए। त्यो डरलाग्दो घटनाको पृष्ठभूमि हुँदाहुँदै पनि मोहम्मद पटकपटक ससद्मा निर्वाचित भए र मन्त्री पनि बने।
‘मेरा लागि यो प्रजातन्त्र होइन, यो मुद्दा मैले उठाए भारत निवार्सनमा जानुपर्छ’, सन २०१७ को ससद्को चुनावअघि श्रीनारायणले भनेका थिए, ‘हामीजस्ता शक्तिविहीनका लागि न्याय पाउने स्थिति छैन।’ तर, आइतबार घटनामा संलग्न मोहम्मद आफताव आलम रौतहटमा पक्राउ परेसँगै पीडितमा न्याय पाउने आशा पलाएको छ।
सांसद आलम पक्राउ
बम बनाउने क्रममा विस्फोट भई घाइते भएका आठजनालाई जलाएर मारेको आरोपमा नेपाली कांग्रेस रौतहटका नेता एवं संघीय प्रतिनिधिसभा सदस्य मोहम्मद आफताव आलमलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। सांसद आलममाथि २०६४ चैत २७ गते विस्फोटमा घाइते भएका आठजनालाई इँटाभट्टामा जलाएर मारेको आरोप लागेको छ।
कर्तव्य ज्यान मुद्दाको आरोप लागेपछि २०६५ असार ९ गते रौतहट सरकारी वकिल कार्यालयमा स्पष्टीकरण दिएका आलमलाई सोही प्रकरणमा पुनः पक्राउ गरिएको हो। पूर्वमन्त्रीसमेत रहेका उनी अहिले रौतहट क्षेत्र नम्बर २ बाट संघीय प्रतिनिधिसभा सदस्य छन्।
नेपाली कांग्रेस जिल्लास्तरीय चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा भाग लिन घरबाट सदरमुकाम गौर जाँदै गरेका आलमलाई राजपुर नगरपालिका–१ स्थित इद्रिश गेटबाट प्रहरी नायब उपरीक्षक नवीन कार्की कमान्डको टोलीले नियन्त्रणमा लिएको हो। पक्राउलगत्तै उनीमाथि लागेको आरोपबारे प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको छ।
पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते आलमले आफ्नै घरमा केही मानिसलाई बम बनाउन लगाएका बेला प्राविधिक गडबडी हुँदा विस्फोट भएको थियो। उनले विस्फोट गराएर मतदान केन्द्र कब्जा गर्ने उद्देश्यले बम बनाउन लगाएको स्रोतको दाबी छ। बम बनाउने क्रममै विस्फोट भई साबिकको सरुअठा गाविस–४ (हाल यमुनामाई गाउँपालिका सरुअठा) बस्ने २४ वर्षीय ओसी अख्तर, पिन्टु भन्ने त्रिलोकप्रताप सिंहसहित आठजना गम्भीर घाइते भएका थिए। ती आठैजनालाई बोरामा हालेर इँटाभट्टामा जलाएर मारेको आरोपमा आलमलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अख्तरकी आमा रोक्साना खातुन र त्रिलोकप्रतापका बाबु श्रीनारायण सिंहले उक्त घटनामा संलग्न भएको भन्दै मोहम्मद आफताव आलम, महताव आलम, मोविन आलम, शेख भदई र शेख सेराजविरुद्ध किटानी जाहेरी दिएका थिए। जाहेरी परेपछि तत्कालीन समयमा जिल्ला प्रहरी कार्यालयबाट घटनाको अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा मुद्दा पेस गरिएको थियो। अनुसन्धान क्रममा २०६५ असार १ गते आरोपित भदईलाई पक्राउ गरियो। त्यसको आठौं दिन असार ९ गते मोहम्मदसहित उनका भाइ महताव, मोविन र शेखले सरकारी वकिल कार्यालयमा उपस्थित भई आफूहरूमाथि लागेको आरोप इन्कार गर्दै बयान दिएका थिए। सोही दिन तत्कालीन सरकारी वकिल ध्रुवमणि ज्ञवालीले प्रमाण अभावमा मुद्दा चलाउन नसकिने राय दिएपछि आरोपित सबै रिहा भएका थिए।
सरकारी वकिलको उक्त निर्णयविरुद्ध पीडित पक्षका खातुन र सिंहले पुनरावेदन अदालत हुँदै सर्वोच्चमा निवेदन दर्ता गराए। सर्वोच्च अदालतबाट २०६९ जेठ १६ गते घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरी प्रचलित कानुनबमोजिम कारबाही गर्नू भन्ने आदेश भएकोे थियो। सर्वोच्च अदालतबाट आदेश कार्यान्वयन गरी मुद्दा चलाउन ताकेता गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटलाई २०७५ चैत ८ गते पत्राचार भएको थियो। बम बनाउने क्रममा भएको विस्फोटमा परी घाइते भएकालाई आफतावसमेतले इँटाभट्टामा जलाएर मारेको दाबीसहित अदालतमा मुद्दा दायर भएको थियो।
सर्वोच्च अदालतको पत्राचारपछि प्रमुख अनुसन्धान अधिकृत एवं रौतहटका एसपी भूपेन्द्रबहादुर खत्रीले आरोपितहरूमाथि मुद्दा चलाउन थप अनुसन्धान आदेश माग गर्दै २०७६ जेठ १४ गते जिल्ला न्यायाधिवक्ताको कार्यालयमा पत्र पठाए। सोही दिन जिल्ला न्यायाधिवक्ताको कार्यालयबाट अनुसन्धान गर्न आदेश भएपछि राजपुर नगरपालिका–४ मा पर्ने घटनास्थल आसपास बस्ने केही स्थानीयसँग बयान लिइयो। जिल्ला प्रहरी कार्यालयले जेठ १५ देखि असार १९ गतेसम्म रवि यादव, रामरेख यादव, धरिक्षण साह तेली, शिवशंकर साह कानुलगायतसँग घटनाबारे सोधपुछ ग-यो।
अनुसन्धान र सोधपुछका क्रममा उनीहरूले २०६४ चैत २७ गते पूर्वमन्त्री मोहम्मद, उनका भाइ महताव, मोविन, भदई र शेखले बिस्फोटमा घाइते आठजनालाई बोरामा हाली आफन्तको राजा इँटाभट्टामा लगेर जलाएको बताएका थिए। ती आठजनालाई ट्रयाक्टरमा राखेर इँटाभट्टामा लगिएको बयान पनि उनीहरूले दिएका थिए। सोही बयानका आधारमा जिल्ला अदालत गौरबाट आरोपित सांसद मोहम्मदलगायतलाई असोज २६ गते पक्राउ गर्न आदेश भएको थियो। सोही आदेशअनुसार सासद मोहम्मदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी खत्रीले बताए।
पक्राउको विरोधमा प्रदर्शन
सांसद मोहम्मदलाई प्रहरीले पक्राउ गरेपछि कांग्रेसका नेता तथा कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय गौर घेराउ गर्दै प्रदर्शन गरेका छन्। आक्रोशित प्रदर्शनकारी र र प्रहरीबीच केही बेर तनाब भए पनि अन्त्यमा कांग्रेसकै नेताले अवस्था सामान्य बनाएका थिए। पार्टीका पूर्व जिल्लासभापति समेत रहेका मोहम्मद पक्राउ परेपछि चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम पनि स्थगित भयो। कांग्रेस रौतहट सभापति कृष्णप्रसाद यादवले पत्रकार सम्मेलन गरी सांसद मोहम्मदलाई तत्काल रिहा नगरे आन्दोलन चर्काउने चेतावनी दिएका छन्। मोहम्मद पक्राउपछि जिल्ला प्रहरी कार्यालय रौतहटले सदरमुकाम गौरसहित विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा बनाएको छ। (नागरिकबाट)