असोज २७, पहिलो नेपाल – नेपाल क्रीकेट संघ (क्यान) को निलम्बन तत्काल फुकुवा नहुने बुझिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को यूएईमा बसेको बैठकमा नेपाली क्रिकेटको निलम्बन फुकुवाको प्रक्रियाका बारेमा गम्भीर छलफल भएको छ । छलफलमा केके भयो भन्ने सार्वजनिक नभए पनि तत्काल क्यान निलम्बन फुकुवा नहुने देखिएको छ ।
नेपाल क्रिकेट संघको नयाँ चुनाव भएपछि आइसीसीको यो बैठकबाट निलम्बन फुकुवा हुन्छ भन्ने अपेक्षा थियो । तर आईसीसीले केही सर्त राखेर निलम्बन फुकुवाको प्रक्रिया मात्र अगाडि बढाउने भएको छ ।
आईसीसीको बैठकले नेपाल क्रिकेट निलम्बन फुकुवाका लागि आर्थिक नियमावलीका साथै व्यवस्थापन कसरी गर्ने, क्यानको कार्यालय व्यवस्थापनलाई पनि अगाडि राखेको बुझिएको छ ।
क्यानको नयाँ कार्यसमिति आए पनि आईसीसीले पूर्ण रुपमा विश्वस्त भएर निलम्बन फुकुवा गर्नुका साटो चरणबद्ध रुपमा आफूले निर्देशन दिएका कामहरु गर्दै गएपछि मात्र सम्भव हुने भएको छ । केही समयका लागि आईसीसीले नै आफ्नो मातहतमा रहेर काम गर्न निर्देशन पनि दिन सक्नेछ ।
क्यानको नयाँ निर्वाचन भएपछि तत्कालै उसको कार्यालय सञ्चालनका लागि बजेट छैन, क्यानको खाता फेरि खुलाउन पनि प्रक्रिया बढाउनु पर्नेछ । यसका साथै आर्थिक पारदर्शिता, आर्थिक रिपोर्ट लगायतका कामहरु कसरी गर्ने भन्ने पनि ठूलो चासोका रुपमा रहेको छ ।
आईसीसीले आधिकारिक जानकारी मंगलबारसम्म दिने बुझिएको छ । त्यसपछि क्यानका पदाधिकारीसँग पनि छलफल हुनेछ ।