असोज २८, पहिलो नेपाल – विश्वकप फुटबलको छनौट अन्तर्गत नेपालले मंगलबार जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार राती पौने १० बजे सुरु हुनेछ ।
जोर्डनस्थित अम्मान अन्तर्राष्ट्रिय रंगशालामा हुने खेलका लागि अष्ट्रेलियासँगको खेलपछी नेपाली टोली गएको शनिबार नै जोर्डन पुगेको छ । पाँचपटक विश्वकप खेलिसकेको अष्ट्रेलियासँग ५–० ले पराजित भएको नेपाल त्यतैबाट जोर्डन गएको हो ।
विश्वकप छनौटमा हालसम्म भएका तीन खेलमा नेपाल एक खेलमा विजयी भएको छ भने दुई खेलमा पराजित भएको छ । कुवेतसँग ७–० को अप्रत्याशित हार बेहोरेको नेपालले नाइनिज ताइपेइलाई २–० ले पराजित गरेको थियो ।
नेपालले हालसम्म जोर्डनसँग दुई पटक खेलेको छ । सन् २०११ को जुलाई २३ मा विश्वकप छनौटको दोस्रो चरणमा जोर्डनसँग उसैको भुमिमा नेपाली टोली ९–० ले पराजित भएको थियो, भने नेपालमै भएको दोश्रो खेलमा भने नेपालले १-१ को बराबरी खेलेको थियो । नेपालभन्दा ६३ स्थान माथी रहेको जोर्डनसँगको खेल नेपालका लागि सहज भने हुनेछैन । तर बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियासँग उत्कृष्ट प्रदर्शन गर्दै सम्मानजनक हार बेहोरेको नेपाल उच्च मनोबलमा रहनेछ ।
छनौटको समूह ‘बी’ मा रहेको नेपालले तीन खेलबाट दुई खेलमा हार र एक खेलमा जितसहित ३ अंक बनाएको छ । शीर्ष स्थानमा अष्ट्रेलिया, दोस्रो स्थानमा कुबेत, तेस्रो स्थानमा जोर्डन छन् । त्यसपछि नेपाल र चाइनिज ताइपेइ छन् ।