असोज २८, पहिलो नेपाल – बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख तथा सांसद कृष्णबहादुर महरालाई आज म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदैछ । महरा असोज १८ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए ।
महरामाथि अनुसन्धानका लागि २० दिनको म्याद माग्ने प्रहरी र सरकारी वकिल कार्यालयको तयारी छ । यसमा महराको पक्राउ गरेको दिनदेखिको समय जोडिनेछ ।
महराको स्वास्थ्यमा समस्या देखिएपछि उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । म्याद थप भएपछि महरालाई पुनः अस्पताल नै लगिनेछ ।
महरामाथि असोज १२ गते आइतबार संसद सचिवालयमै कार्यरत महिला कर्मचारी रोशनी शाहीकै कोठामा गएर बलात्कार प्रयास गरेको आरोप छ । सोही आरोपमा पीडित शाहिले किटानी जाहेरी दिएपछी महरा पक्राउ परेका हुन् । महराले सोही प्रकरणमा सभामुखको पदबाट समेत राजीनामा दिएका थिए ।