असोज ३०,पहिलो नेपाल – महोत्तरीमा घुससहित एक जना प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन् । भारतबाट ल्याइने घरेलु मालसामानहरू सिमानाकाबाट नेपाल भित्र्याइदिने भन्दै व्यापारीसँग १३ हजार रुपैँया घुस लिँदै गरेको अवस्थामा प्रहरी सहायक निरीक्षक वृजेशप्रसाद चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
चौधरीलाई बिहीबार दिउँसो दुई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटेको टोलीले पक्राउ गरेको अख्तियारले जनाएको छ।
पक्राउ परेका चौधरी महोत्तरीको औरही नगरपालिका वडा नम्बर ४ मा रहेको अस्थायी प्रहरी पोस्ट कठुधारका इन्चार्ज हुन्। पक्राउ परेका चौधरीलाई अनुसन्धानका लागि बर्दिबासस्थित अख्तियारको कार्यालय ल्याइएको छ।