कार्तिक १, पहिलो नेपाल – गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा नेकपा निकट कुमार पन्त विजयी भएका छन् । एनआरएनएको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनले कुमार पन्तको नेतृत्वमा नयाँ पदाधिकारीको टुङ्गो लागेको हो ।
बिहीबार भएको मतदानमा उनले काङ्ग्रेस निकट प्रतिद्वन्द्वी कुल आचार्यलाई हराउँदै विजयी भएका हुन् ।
यस्तै उपाध्यक्षमा बद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनम लामा, मन केसी र रविना थापा विजयी भएका छन् ।
एनआरएनएको महासचिवमा हेमराज शर्मा, कोषाध्यक्षमा पन्त समूहकै महेशकुमार श्रेष्ठ विजयी भएका छन् । सचिवमा गौरी जोशी, आरके शर्मा विजयी भएका छन् । यस्तै, सह–कोषाध्यक्षमा लोक दाहाल र भुमा लिम्बु विजयी भएका छन् ।
४१ पदाधिकारीको लागि मतदान भएको थियो। ४१ पदाधिकारीका लागि ७५ जना चुनावी मैदानमा उत्रिएका थिए।
बुधबार राति इलेक्ट्रोनिक भोटिङ हुने भने पनि मेसिन बिग्रिएको भन्दै बिहिवार बिहान १० बजेदेखि मतदान सुरु गरिएको थियो।
कुल २ हजार ५ सय ७० मतदाता मध्ये २ हजार ३ सय ४४ मत खसेको थियो। जसमा युरोपबाट ९२०, अमेरिकाबाट २७१, अष्ट्रेलिया, र न्युजिल्याण्डबाट २१५, एसियाबाट ४६२, मध्यपूर्वबाट ४६० र अफ्रिकाबाट १६ मत खसेको थियो।