कार्तिक ३, पहिलो नेपाल – स्पेनिस ला लिगाको यस सिजनको सुरुवातमा निकै पछि परेको बार्सिलोना अन्तत शीर्ष स्थानमा उक्लिन सफल भएको छ । शनिबार भएको खेलमा एआइबरमाथि ३–० को प्रभावशाली जित निकाल्दै शिर्ष स्थानमा उक्लिएको हो । उता शीर्ष स्थानमा रहेको रियल मड्रिडले नव प्रवेशी रियल माल्लोर्कासँग पराजित हुँदा बार्सिलोना शीर्ष स्थानमा उक्लिन सफल रह्यो ।
एआइबरको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितका लागि बार्सिलोनाका तीन स्टार फर्वाडले एक–एक गोल गरे ग्रिजम्यानले १३औं मिनेटमा, मेसीले ५८औं मिनेटमा र स्वारेजले ६६औं मिनेटमा गोल गरेका हुन् । जित पछि ९ खेलबाट बार्सिलोनाको १९ अंक पुगेको छ । दोस्रौ स्थानमा रहेको रियल मड्रिडको समान खेलबाट १८ अंक छ।
उता रियल मड्रिड यस सिजन बढुवा भएर ला लिगा खेलेको रियल माल्लोर्कासँग १–० ले पराजित भयो । माल्लोर्काले आफ्नै मैदानमा भएको खेलमा ७औं मिनेटमा लागो जुनियरको गोलबाट अग्रता बनाएको थियो।
रियल मड्रिडले खेल अवधिभर माल्लोर्कालाई निकै दबाबमा राखेपनि गोल फर्काएर अंक खोस्न सकेन । डिफेन्डर अलभारो ओड्रिओजोला दोहोरो पँहेलो कार्ड पाउँदै बाहिरिएपछि १० खेलाडीमा सीमित भएको थियो।
तीन खेल अघिसम्म निकै पछाडि रहेको बार्सिलोना पछिल्ला खेलमा लगातार जित निकाल्दै शीर्ष स्थानमा उक्लिन सफल भएको हो । जितसँगै अन्य टोलीको नतिजा पनि बार्सिलोनाको अनुकुल आउँदा फाइदा पुग्यो । बार्सिलोनाले लगातार अघिल्ला दुई सिजनको उपाधि जितेको छ ।