कार्तिक ४, पहिलो नेपाल – नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिसिरियल ‘भद्रगोल’ र ‘सक्किगो नि’ बीचको विवाद प्रहरीमा पुगेको छ। आइतबार मिडिया हबका प्रमुख सोम धितालले ‘सक्किगो नि’ मा कलाकार कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’ लगायत केही कलाकारले निर्वाह गर्दै आएको भूमिका टेलिसिरियल ‘भद्रगोल’ को पात्र भएको भन्दै महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएका थिए।
‘मिडिया हबले हाँस्य टेलिसिरियल ‘भद्रगोल’ को पात्रहरूको नाम प्रयोग गरेर कलाकारहरुले ‘सक्किगो नि’ सिरियल बनाएपछि प्रहरीमा कपिराईटको उजुरी दिएका थिए। उजुरी आएलगत्तै प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
आईतबार महानगरीय प्रहरी परिसर टेकुबाट फोन आएलगत्तै कुमार कट्टेल ‘जिग्री’का टोलीले भद्रगोलको सम्झौता पत्र बुझाएको थियो। यसअघि मिडिया हबले निर्माण गर्दै आएको ‘भद्रगोल’ बाट परिश्रमिक नपाएको भन्दै छुट्टिएका यो टोलीले जेपिटी क्रियसनमार्फत ‘सक्किगो नि’ निर्माण गरेका थिए ।