कार्तिक १०, पहिलो नेपाल – चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन गएका नेपालका विभिन्न दल सम्वद्ध १२ युवा विद्यार्थी नेताहरु अध्ययनमा व्यस्त रहेका छन् । कार्तिक १ गते चीन प्रस्थान गरेका विद्यार्थी नेताहरुले पहिलो तीन दिन तिब्बतमा व्यतीत गरेपश्चात यतिबेला सियानमा रहेका छन् ।
१७ दिने अध्ययन भ्रमणका लागि गएका नेताहरुले हाल सिजाङ मिन्जु विश्वविद्यालयमा चिनियाँ विशेषताको समाजवाद, चीनको विकास मोडल र गरिबी निवारणका प्रयासवारे अध्ययन गरिरहेको भ्रमण टोलिका सदस्य तथा अनेरास्ववियूका नेता ओसिम आलमले जानकारी दिए ।
चिनियाँ कम्युनिस्ट पार्टीको विषेश निमन्त्रणामा गएको टोलिलाई तिब्बत विमानस्थलमा भव्य स्वागत गरिएको आलमले बताए । त्यस्तै सियानमा पनि उत्तिकै स्वागत र सम्मान गरिएको प्रती आलमले खुशी व्यक्त गरे ।
उनले थपे, ‘चिनका नागरिकले सि जिनपिङलाई भगवानकै रुपमा सम्झदा रहेछन्। केहि समय अघि सिको नेपाल भ्रमणका बेला नेपालीले गरेको स्वागतप्रती चिनियाँ नागरिक अत्यन्तै खुशी भएका रहेछन् ।’ उनका अनुसार नेपाली नागरिकले सिलाई गरेको स्वागत चिनियाँ नागरिकले नजिक बाटै नियालेको पनि उल्लेख गरे ।
भ्रमण टोलि यहि शनिबार स्वदेश फर्कने छ । टोलीमा सत्तारूढ नेकपा सम्वद्ध युवा विद्यार्थी नेता सुरेन्द्र बस्नेत, ओसिम आलम, आरती लामा, सुदर्शन शिवाकोटी, कपिल आचार्य र हेमन्त रेग्मी रहेका छन् । त्यस्तै नेपाली कांग्रेस सम्वद्ध पवनकुमार यादव, मिरा कटुवाल र अमिर खड्का पनि रहेका छन् ।
त्यसैगरी समाजवादी पार्टी, नेपालवाट रामप्रित पासवन र पुर्णवहादुर बस्नेत तथा नेपाल मजदुर किसान पार्टीवाट सुवेगमान विजुक्छे रहेका छन् ।