कार्तिक १७, पहिलो नेपाल – चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा गएको नेपाली युवा विद्यार्थी नेताहरूको टोली चीनको १५ दिने अध्ययन भ्रमण पूरा गरि शनिबार स्वदेश फर्किएको छ । गत कार्तिक १ गते नेपालका विभिन्न चार दल सम्वद्ध १२ युवा–विद्यार्थी नेताहरुको टोली चीन गएको थियोे ।
१५ दिने अध्ययन भ्रमणका क्रममा नेपाली युवा टोलीलाई चिनियाँ विशेषताको समाजवाद, चीनको विकास मोडल र गरिबी निवारणका प्रयासवारे अवगत गराइएको सत्तारूढ नेकपा सम्वद्ध अनेरास्ववियूका नेता ओसिम आलमले जानकारी दिए ।
चीनको शाङ्सी प्रान्तको सिङ्जा मिञ्जु विश्वविद्यालयमा नेपाली युवा नेताहरुका लागि आयोजना गरिएको सेमिनारमा विभिन्न विश्वविद्यालयका प्राध्यापक , चिनियाँ कम्युनिष्ट पार्टीका नेता एवम् सरकारी अधिकारीहरुले भाग लिएका थिए । कार्यक्रम अवधिमा नेपाली युवा टोलीलाई चीनका विभिन्न ऐतिहासिक ठाउँहरुको भ्रमण गराइएको थियोे । त्यसक्रममा हरेक ठाउँ र कार्यक्रममा नेपाली टोलीले नेपाल भ्रमण वर्ष २०२० को प्रचार गर्दै चिनिया नागरिक र अधिकारीहरुलाई नेपाल भ्रमणको निम्तो दिएको भ्रमण दलका ओसिम आलमले जानकारी दिए ।
भ्रमण टोलीमा सत्तारूढ नेकपा सम्वद्ध युवा विद्यार्थी नेता सुरेन्द्र बस्नेत, ओसिम आलम, आरति लामा, सुदर्शन शिवाकोटी, कपिल आचार्य र हेमन्त रेग्मी रहेका थिए । नेपाली काङ्ग्रेस सम्वद्ध पवनकुमार यादव, अमिर खड्का र मिरा कटुवाल रहेका थिए । त्यसैगरी समाजवादी पार्टी, नेपालवाट राष्ट्रिय सभा सांसद रामप्रित पासवन र पुर्णवहादुर बस्नेत तथा नेपाल मजदुर किसान पार्टीवाट सुवेगमान विजुक्छे रहेका थिए ।