कार्तिक १८, पहिलो नेपाल – नेकपा मोरङले आफ्नो पार्टिबाट निर्वाचित जिल्लाभरका जनप्रतिनिधिलाई १ महिनाभित्र प्रगति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । पार्टी कार्यलय बिराटनगरमा भएको जनप्रतिनिधिको भेलाबाट आफूले गरेका काम १ महिनाभित्र सार्वजनिक गर्न आफ्ना पार्टीबाट निर्वाचित मोरङका जनप्रतिनिधिलाई नेकपाले निर्देशन दिएको हो ।
नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले एक महिनाभित्र आफूले गरेका काम सार्वजनिक गर्न र जिल्ला कमिटिलाई पनि बुझाउन निर्देशन दिएको बताउनुभयो । यस्तै मोरङका ७ वटा निर्वाचन क्षेत्रबाट निर्वाचिन प्रदेश सांसद, मन्त्री, र संघीय सांसद तथा मन्त्रीलाई समेत १५ दिनभित्र आफूले गरेका काम र प्रगति सार्वजनिक गर्न निर्देशन दिएको छ ।
स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाका सांसद तथा मन्त्रीहरूले बुझाएको प्रगति प्रतिवेदन जिल्ला पार्टीले सार्वजनिक गरिने पोख्रेलको भनाइ छ । जनप्रतिनिधि र पार्टीबीच समन्वय नहुँदा भएका विकास र गरेका कामको जानकारी पनि जनताबीच पुग्न नसकेको भन्दै नेकपा मोरङले १० दिनभित्र १७ वटै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि सम्मिलित स्थानीय दलको समिति गठन गर्न समेत नेकपा मोरङले निर्देशन दिएको छ ।
यही समितिमार्फत जिल्ला पार्टी र स्थानीय जनप्रतिनिधिबीचको समन्वय प्रभावकारी बनाउने अध्यक्ष पोखरेलले बताए।
त्यस्तै माथिको आदेश र पार्टीको निर्देशनको नाममा कानुनविपरीत काम नगर्न समेत नेकपा मोरङले आफ्ना जनप्रतिनिधिलाई कडा निर्देशन दिएको छ ।
आईतवार पार्टी कार्यलाई बिराटनगरमा बसेको जनप्रतिनिधिको भेलामा संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लामो समयको जनप्रतिनिधिविहीनता र जनताको बढ्दो आकांक्षालाई सम्बोधन गर्ने नाममा कानुन पालनामा उदासीन बन्न नहुने बताउनुभयो ।
मन्त्री पण्डितले त्यसखालको काम गरेर हातमा हतकडी लाग्नु भन्दा पहिले नै सचेत हुन पनि आग्रह गर्नुभयो । ‘माथिल्लो तहका मानिसले के भन्छन्। पार्टी कमिटीले के भन्छ भन्ने कुरा सुन्नुपर्छ। तर निर्णय गर्दा कानुनअनुसार गर्नुपर्छ’, पण्डितले भन्नुभयो,‘कानुनबिना पार्टीको वा कसैको आदेश आयो निर्णय गर्यो भन्ने कुराले अप्ठ्यारो पर्छ । कानुनअनुसार काम गर्ने हो भने निर्णय, समन्वय र कार्यान्वयनमा सजिलो हुन्छ ।’
नेकपा मोरङका इन्चार्ज घनेन्द्र बस्नेतले कानुनको कुरा जनप्रतिनिधिले जान्नुपर्ने भन्दै कानुनले मिल्ने नमिल्ने र हातमा हतकडी पर्ने नपर्ने कुरा पनि जनप्रतिनिधिकै हातमा रहेको बताउनुभयो ।
कार्यक्रममा जनप्रतिनिधिले भने समन्वय अभाव भएको, पार्टी एकता ढिलो हुँदा अन्योलता छाएको र नेकपाको सरकार आए पनि भ्रष्टाचार बढेको गुनासो गरे ।
मोरङका प्रदेशसभा सांसद उपेन्द्र घिमिरेले सामान्य सामाजिक काम पनि गर्न नसक्दा जनताप्रति पार्टीको छवि राम्रो नभएको भन्दै पार्टीले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
नेकपाका प्रदेश १ इन्चार्ज भीम आचार्यले भने आफूले गरेका निर्णयको सही ढंगले प्रचार पनि नभइरहेको भन्दै आवश्यक समन्वयका लागि पार्टीले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा प्रदेशका सहइन्चार्ज सावित्रीकुमार काफ्ले, अध्यक्ष देवराज घिमिरेले पनि आवश्यक समन्वय गरेर अगाडि बढ्न पार्टीले भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको थियो ।