मंसिर १, पहिलो नेपाल – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ।
राजधानीको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा संगठन एकतापछिको पहिलो राष्ट्रिय भेला सुरु भएको हो।
दुई दिनअघि मात्रै सबै जिल्लाका संयोजक र सहसंयोजक तोकेको युवा संघ नेकपामा सबैभन्दा पहिले एकता टुंग्याउने भातृसंगठन पनि भएको छ।
राष्ट्रिय भेलाका शुभारम्भ समारोहमा पार्टीका दुवै अध्यक्षलाई सम्मानित पनि गरिएको छ। कार्यक्रमा राष्ट्रिय युवा संघ नेपालले ओली-प्रचण्डलाई पूर्वअध्यक्षका रुपमा सम्मानित गरेको हो।
त्यसक्रममा तत्कालीन नेकपा एमालेनिकट युवा संघ र तत्कालीन नेकपा माओवादी केन्द्रनिकट वाईसीएलका सबै पूर्वअध्यक्षहरूलाई पनि सम्मानित गरिएको छ।
प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओलीलाई युवा संघका संयोजक रामप्रसाद सापकोटा दीपशिखाले सम्मान गरे। त्यस्तै पार्टीका अर्का अध्यक्ष प्रचण्डलाई ओलीले सम्मानित गरेका हुन्।