मंसिर ३, पहिलो नेपाल – बिराटनगर महानगरपालिका वडा नं. ६ स्थित शिव मन्दिर पछाडिको बाटो पाँच वर्षसम्म पनि नबन्दा स्थानीयहरुले सांकेतिक रुपमा मेयरको ध्यानाकर्षण गराएका छन् । उनिहरुले मेयर भिम पराजुलीको फोटो सहित ‘हाम्रो बिराटनगर राम्रो बिराटनगर’ लेखीएको ब्यानर राखेर सांकेतिक बिरोध गरेका छन् ।
कोशी राजमार्गबाट शिवमन्दिर चोक हुँदै पश्चिमतर्फ जाने करिव ६०० मिटरको बाटो पाँच वर्ष बितिसक्दा पनि नबनेकोले स्थानीयहरु आजित भएको स्थानीय युवा समाजसेवी नवीन बिक्रम शाहले बताए । उनले भने, ‘मेयर पराजुलीलाई पटकपटक ध्यानाकर्षण गराएपनी बाटो बन्ने छाँटकाँट नदेखिएपछी मेयरको फोटो टाँस्न बाध्य भएका हौँ। मेयरसँग नजिक र पहुँचवाला भएका ठाउँहरु तिर बाटो बनिसके तर यो सबैभन्दा पुरानो र मुख्य बाटो भएपनी अझैसम्म बन्ने सुरसार छैन् ।’ वडा समितीमा पनि निवेदन दिईसकेको शाहले बताए ।
एडिबिको परियोजना अन्तर्गत पर्ने उक्त बाटो यसअघिनै बनिसक्नु पर्ने भएपनी मेयर पराजुलीले नै बन्न नदिएको स्थानीयहरुले आरोप लगाएका छन् । दुईचार जनासँग मेयरको व्यक्तिगत मनमुटाव भएकै कारण बाटो नबनेको एक स्थानीय युवाले बताए ।