मंसिर ३, पहिलो नेपाल – फिफा विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्धको खेलमा नेपाल पुनः पराजित भएको छ । भुटानकाे थिम्पुमा भएकाे प्रतिस्पर्धात्मक खेलमा नेपाल १-० गोअन्तरले पराजित भयो । खेलको सुरुवातदेखि नै नेपालमाथि दबाब दिएको कुवेतले दुई वटा उत्कृष्ट मौका पछि गोल गर्न सफल भएको थियो । त्यसो त नेपालले पनि एउटा सुन्दर मौका पाएको थियो । २३ औं मिनेटमा सुजल श्रेष्ठले मिलाइदिएको पासमा अविशेक रिजाल डिबक्स भित्र चुक्न पुगे ।
तर २८ औं मिनेटमा नेपालले गोल खान पुग्यो । कुवेतका कप्तान बदर अल मतवाले डिबक्स बाहिरबाट गरेको प्रहारलाई गोलकिपर किरण चेम्जोङले बचाउन सकेनन् ।
कुवेतविरुद्ध मुख्य चार जना खेलाडीलाई बर्खास्त गरेर भुटान पुगेको नेपालले ४१ औं मिनेटमा निकै राम्रो मौका पाएको थियो । तेज तामाङको कर्नरबाट आएको बललाई रोहित चन्दले प्रहार गरेका थिए । तर त्याे प्रहार पाेलमा लागेर फर्कियाे । त्यसपछि तेजले नै प्रहार गर्दा पोष्टमाथिबाट बाहिरियो । जसका कारण नेपालले पहिलो हाफमा एक गोलले पछि पर्न गयो ।
पहिलो हाफमा एक गोलले पछि परेकाे नेपालले दोस्रो हाफमा पनि खासै राम्रो खेल्न सकेन । त्यसको विपरीत कुवेतले ७८ औं मिनेटमा अर्को अवसर पाएको थियो । जसलाई किरण चेम्जोङले मुस्किलले बचाए । ८८ औं मिनेटमा कुवेतले अर्को गोलको अवसर सिर्जना गरेको थियो । जसमा उसका अल सलमानले गरेको हेडको प्रयास पोष्ट नजिकैबाट बाहिरीयो ।
खेलको ९० औं मिनेटमा कुवेतले फ्रिकिकको मौका पाएको थियो । उसका कप्तान बदरको प्रहारलाई किरण चेम्जोङले बचाए । त्यसपछि नेपालले एउटा प्रहार गर्दा त्यसमा कुवेती गोलकिपर बाधक बने ।
यो जितले कुवेतको पाँच खेलमा १० अंक भएको छ भने नेपालको पाँच खेलमा तीन अंक छ । यसअघि नेपाल कुवेतसँग ७-० ले पराजित भएको थियो।