मंसिर ६, पहिलो नेपाल – परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली शनिबार रसिया र सर्बिया भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार ज्ञवाली रसिया हुँदै सर्बिया जानेछन् । औपचारिक भ्रमणमा निस्कन लागेका उनले मंसिर ९ मा रसियाका विदेशमन्त्री सेर्गेई लभ्रोभसँग वार्ता गर्ने कार्यक्रम छ ।
पुसको दोश्रो साता रसियाका राष्ट्र्पती भ्लादिमिर पुटिनले नेपालको भ्रमण गर्ने चर्चा चलिरहेको बेला परराष्ट्रमन्त्री ज्ञवाली रसिया जान लागेका हुन् । यसले पुटिनले नेपालको भ्रमण गर्ने संभावना देखाएको छ । यसअघि चिनका राष्ट्रपति सि जिनपिनले नेपालको भ्रमण गरेपछी सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प र रसियाली राष्ट्रपति पुटिनलाई समेत नेपाल भ्रमण गराउने प्रयास भैरहेको बताएको थियो ।
मन्त्री ज्ञवालीले मंसिर १० मा मस्कोस्थित इन्स्टिच्युट अफ इन्टरनेसनल रिलेसनमा नेपाल–रसिया सम्बन्ध र सहकार्यका विषयमा सम्बोधन गर्नेछन् । उनले रसियाली नेता तथा त्यहाँका गैरआवासीय नेपाली पनि भेट्ने कार्यक्रम छ । मंसिर ११ मा मन्त्री ज्ञवाली सर्बियाको राजधानी बेलग्रेडतर्फ लाग्नेछन् ।
नेपाल र सर्बियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको छ । उनी मंसिर १४ मा नेपाल फर्कनेछन् ।