मंसिर ७, पहिलो नेपाल – आजका पत्रपत्रिकामा भारतले गरेको नेपाली भूमि अतिक्रमणलाई विषेश रुपमा छापेका छन् ।
कान्तिपुर दैनिकले भारतको नयाँ नक्साप्रति औपचारिक विरोध जनाउँदै नेपालले कूटनीतिक नोट पठाएको समाचार छापेको छ । भारतले कालापानी, लिपुलेकलगायत भूभागलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको तीन सातापछि नेपालले औपचारिक विरोध जनाएको छ । नेपालले बिहीबार नयाँ नक्साविरुद्ध कूटनीतिक नोट पठाएर भारतसमक्ष विरोध जनाएको हो ।
परराष्ट्र मन्त्रालयमार्फत् पठाइएको नोटमा भारतद्वारा जारी पछिल्लो नक्सा गलत भएकाले त्यसलाई सच्याउन आग्रह गरिएको कान्तिपुरले लेखेको छ ।
भारतको गृहमन्त्रालयले नोभेम्बर २ मा कालापानी, लिपुलेकलगायत नेपाली भूभागलाई आफ्नो सीमाभित्र राखेर नक्सा जारी गरेको थियो । नेपालले सुगौली सन्धिको धारा ५ मा कालीनदीपूर्वको भूभाग नेपालको हो भन्ने प्रष्ट उल्लेख भएकाले दुई देशको सीमा पनि त्यहीअनुसार कायम हुनुपर्ने दाबी गर्दै आएको छ ।