मंसिर १०, पहिलो नेपाल – बिराटनगरको सबैभन्दा ठूलो समस्याको रुपमा रहेको अव्यवस्थित पार्किङलाई पछिल्लो समय व्यवस्थित गरिँदै छ । व्यवस्थित पार्किङका लागि चुनौतीहरु धेरै भएपनी जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख भएर आएका राकेश कुमार पोद्धारले पार्किङ व्यवस्थापनका लागि प्रयास गरिरहेका छन् ।
पार्किङ व्यवस्थापन अन्तर्गत पहिलो चरणमा विराटनगरको बसपार्क देखि बरगाछि क्षेत्रमा र बजार क्षेत्रमा एकतर्फ मात्र पार्किङ गर्न पाईने पोद्धारले बताएका छन् । उनका अनुसार उक्त क्षेत्रको सडकमा नो पार्किङ जोन बनाउन खोजिए पनि पार्किङको लागि अन्य विकल्प नभएका कारण पहिलो चरणमा एकतर्फ भने पार्किङ गर्न दिईएको हो । उनले अव्यवस्थित सडक जामलाई नियन्त्रणमा ल्याउनका निमित्त नो पार्किङ जोन बनाउ लागिएको बताए । साथै बरगाछी देखि महेन्द्र चौकसम्मको मुख्य सडकमा दिउँसोको समयमा मालवाहक ट्रक तथा गाडिलाई रोक्न निषेध गरिएको उनले जानकारी दिए ।
विभिन्न संघसंस्था, स्कुल कलेज, पार्टी प्यालेसहरुमा पार्किङ स्थल निर्माण नगर्नाले र फुटपाथमा पसल अव्यवस्थित पसल गर्नाले र बाइपासको व्यवस्था नभएका कारण सडक जाम भएको पोद्धारले बताए । विराटनगर प्रदेश १ को राजधानी भएकाले जाम रहीत होस् भन्ने उद्देश्य सहित फिल्डमा आफै खटिएर काम गरिरहेको उनले जिकिर गरे ।
उनले आफ्नो कार्य अवधिसम्म सडकमा राखिएका फुटपाथलाई व्यवस्थित गर्ने, ट्राफिक जनचेतनाको कार्यक्रमलाई प्रभाकारी रुपमा अगाडि बढाउने, पार्किङ स्थल निश्चित क्षेत्रमा निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् । साथै ट्राफिक मोड देखि जलजला रोडसम्म पार्किङ निषेध गर्ने र कोशी अञ्चल अस्पताललाई जाम रहित बनाउने उल्लेख गरे ।
उनले राजमार्ग तथा भित्री सडक बीच भागमा रहेका पोलहरु सडक तथा महानगर लगायत सरोकारवालासँग समन्वय गरेर तत्काल हटाइने र सवारी साधनको प्रदुषण जाँचको व्यवस्था पनि चाँडै गरिने जानकारी दिए ।