मंसिर १६, पहिलो नेपाल – अन्जली चन्दले अविश्वसनिय विश्वकीर्तिमान प्रर्दशन गरेपछि नेपालले १३ औं दक्षिण एसियाली खेलकुद(साग) महिला क्रिकेटमा माल्दिभ्सलाई १० विकेटले हराएको छ ।
सामान्य १७ रनको लक्ष्य नेपालले पाँच बलमै पुरा गरेको हो । पहिलो नो बलमा काजल श्रेष्ठले चौका प्रहार गरिन् । दोस्रो बलमा १ रन लिदा तेस्रो बलमा सिता राना मगर डट भइन् । चौथोमा वाइड २ र अर्कोमा काजले चौका प्रहार गरिन् । पाँचौ बलमालेग वाइका रुपमा १ रन लिदै नेपालले ५ बलमा खेल जितेको हो ।
यो नेपालले जितको सर्वाधिक छिटो जित हो । विश्वमा तेस्रो सर्वाधिक छिटो जित पर्दछ । यस अघि रवान्डा र तानजानिले समान ४ बलमा खेल जितेका छन् । नेपालकी ओपनर काजल श्रेष्ठले ५ बलमा ३ चौका सहित १३ रनमा अविजित रहिन् ।
त्यसअघि अन्जलीले अद्भुत प्रदर्शन गरेपछि माल्दिभ्स १०.१ ओभरमा १६ रनमा अल आउट भएको थियो । नेपालको बलिङ आक्रमणविरुद्ध माल्दिभ्सका ९ जना खेलाडीले खाता खोल्न सकेनन् । उसका हफ्सा अफ्सा अब्दुल्लाले ४ र हामना नियाजले ९ रन बनाउन बाहेक अन्यले खाता खोल्न सकेनन् । अन्जलीले ४ ब्याट्सवुमनलाई क्याच आउट र २ लाई बोल्ड आउट गरिन् ।
अन्जलीले २.१ ओभरमा २ मेडन कुनै रन नदिइ ६ विकेट लिइन् । अन्जलीले नवौं ओभरको पाँचौ र छैटौं तथा ११ औं ओभरको पहिलो बलमा विकेट लिदै ह्याट्रिक पुरा गरेकी थिइन् ।
यो विश्व टि ट्वान्टी वोमनमा हालसम्मकै सर्वोउत्कृष्ट प्रर्दशन हो । यस अघि मलेसियाकी मास अलिसाले ४ ओभरमा १ मेडन सहित ३ रन खर्चेर ६ विकेट लिइकी थिइन् । करुणा भण्डारीले २ विकेट हात पारिन् ।