मंसिर २०, पहिलो नेपाल – आगामी माघ १,२ र ३ गते विराटनगरमा सडक महोत्सव हुने भएको छ । भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाको सहयोगमा महोत्सव गर्न लागिएको हो ।
महोत्सव मञ्जिना मुभिज क्रियसनको आयोजनामा हुन लागेको हो । दिउँसो ३ बजेदेखि बेलुका ८ बजेसम्म स्थानीय शनिहाटमा महोत्सव आयोजना हुनेछ । विराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गरी क्रियशनका निर्देशक जतिन ताम्राकारले सरकारले नेपाल भ्रमण वर्ष सफल बनाउन प्रयास गरिएको बताए ।
उनका अनुसार भ्रमण वर्षको समयमा केही संख्यामा भारतीय पर्यटक समेत भित्रीने विश्वास छ । साथै महोत्वमा प्रदेश १ का अन्य जिल्लाका आन्तरिक पर्यटक पनि आउने अपेक्षा राखिएको ताम्राकारले बताए ।
सडक महोत्सवमा स्वदेशीवस्तुहरु, स्थानीय उत्पादनदेखि विभिन्न खानाका स्टलहरु तथा अन्य व्यवासयिक स्टलहरु रहने छन । महोत्सव अवधिभर सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरु राखिने उनले बताए । सांगीतिक तथा सांकृतिक कार्यक्रममा स्थानीय कलाकर्मीहरुलाई पहिलो प्राथमिकता दिइने छ भने राष्ट्रियस्तरका कलाकारहरुलाई हरेक दिन उपस्थित गराइने तयारी गरिएको छ । एक सयवटा स्टलहरु राखिने तयारी गरिएको सडक महोत्सवका लागि स्टल बुकिङ समेत खुला गरिएको छ ।
महोत्सवमा प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यहरुको संक्षिप्त जानकारी दिइने तथा पर्यटकीय स्थलहरुको तस्वीर समेत राखिने आयोजकले जनाएको छ । भारतीय अवलोकनकर्ताहरुले समेत आगमन हुने अपेक्षा राखेका ताम्राकारले महोत्सवको १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको बताए । महोत्सव अवधिभरमा करीब एक करोडभन्दा बढीको कारोवार हुने अनुमान आयोजकले गरेको छ ।
सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्य लिएर नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेको छ ।