मंसिर २६, पहिलो नेपाल – संघीय सरकारले पछिल्लो ३ वर्षमा १९ अर्ब १७ करोड ८३ लाख रुपैयाँ सवारीसाधन खरिदमा खर्चिएको छ।
केन्द्र सरकारले आर्थिक वर्ष २०७५/०७६ मा मात्र ५ अर्ब ८६ करोड ८३ लाख रुपैयाँको सवारी खरिद गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। सरकारले आफू मातहतका कार्यालयका लागि सो रकमको गाडी खरिद गरेको हो।
त्यस्तै सरकारले आर्थिक वर्ष २०७४/०७५ मा ६ अर्ब ६१ करोड रुपैयाँको सवारीसाधन खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले राखेको तथ्यांकमा उल्लेख छ। सरकारले सवारीसाधनका लागि गर्ने खर्च वर्षेनी बढ्दै गएको छ। विगतमा सरकारले स्थानीय तहसहित सबैका लागि एकमुष्ट सवारी खरिद गर्दै आएको थियो। साथै आव २०७३/०७४ मा सरकारले ६ अर्ब ७१ करोड रुपैयाँको सवारी खरिद गरेको थियो।
स्थानीय तहले किनेका सवारीको विवरण उपलब्ध गराउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ताकेता गरेपनि अधिकांशले उपलब्ध गराएका छैनन्। स्थानीय तथा प्रदेश सरकारले खरिद गरेको सवारीको रकम पनि आउने हो भने गत आवमा केन्द्र सरकारले खरिद गरेको ५ अर्ब ८६ करोड रुपैयाँ बराबर नै आउने अनुमान गरिएको छ। गत आवमा अघिकांश स्थानीय तहले नयाँ सवारीसाधन खरिद गरेकाले केन्द्र सरकारले खर्च गरेजति नै रकम खर्चिएको हुनसक्ने अनुमान संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयले गरेको छ।