मंसिर ३०, पहिलो नेपाल – नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको राष्ट्रिय सम्मानकासाथ अन्त्येष्टि गरिने भएको छ।
चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै उनको राष्ट्रिय सम्मानकासाथ अन्त्येष्टि गरिन लागिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ।
उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिनको लागि सोमबार मध्यान्ह १२:३० बजेदेखि १:३० बजेसम्म चलचित्र विकास बोर्डको प्रांगणमा राखिएको छ भने २ बजेपछि पशुपतिमा दाहसंस्कार गरिने भएको छ।
भट्टराईको आइतबार राति १० बजेर २० मिनेटमा निधन भएको हो।
उनको स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो। अस्पताल पुर्याइएका उनलाई अस्पतालले तत्कालै मृत घोषणा गरेको थियो।
५४ वर्षीय भट्टराई एक पत्नी र छोरा रहेका छन्।उनी करिब ३ दशकदेखि अभिनय र सिनेमा निर्माणमा सक्रिय रहँदै आएका थिए।
पछिल्लो पटक उनले ‘यात्रा’ नामक सिनेमा निर्माण गरेका छन्। ‘यात्रा’सहित उनले ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’, ‘कर्मयोद्दा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’ लगायतका सिनेमा निर्माण गरेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उनको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
सोमबार बिहान प्रधानमन्त्री ओलीले ट्विटरमार्फत् श्रद्धाञ्जली व्यक्त गरेका हुन्।