पुस १५, पहिलो नेपाल – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्रमण वर्ष २०२० को उद्घाटन र त्यसको अघिल्लो दिन सबै सरकारी निकायमा दीपावली गर्न पत्राचार गरेको छ । ८ पुसको सचिवस्तरीय निर्णयअनुसार मन्त्रालयले पुस १५ र १६ मा दीपावली गर्न निर्देशन दिएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समेत सम्पूर्ण स्थानीय तहलाई पर्यटन मन्त्रालयको निर्णय पठाउँदै आफ्नो मातहतका निकायमा दीपावली गर्न आग्रह गरेको छ । त्यसो त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले देशभर नै दीपावली गर्न आग्रह गर्दै आएका छन् ।
भ्रमण वर्षको उद्घाटन १ जनवरी (बुधवार) मा दशरथ रंगशालामा हुँदैछ भने अन्य प्रदेश सरकारले छुट्टाछुट्टै उद्घाटन समारोह गर्दैछन्। सरकारले वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको हो ।