पुस १८, पहिलो नेपाल – प्रदेश १ सरकारले नेपाल भ्रमण बर्ष २०२० को उद्घाटन समारोह भव्य रुपमा सम्पन्न गरेको छ । प्रदेश सरकारले एक बर्षमा ५ लाख पर्यटक भित्र्याउने उदेश्य सहित भ्रमण बर्षको भब्य उद्घाटन गरेको हो ।
गएको जनवरी १ अर्थात अंग्रेजी नयाँ वर्षको दिन बिराटनगरको सहिद रंगशालामा एक भव्य समारोहको आयोजना गर्दै सन् २०२० मा प्रदेश १ सरकारले ५ लाख पर्यटक भित्र्याउने लक्ष सहित भ्रमण बर्षलाई स्वागत गरेको हो । भ्रमण बर्षको उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश १ मा प्रसस्तै संभावना बोकेका पर्यटकीय स्थलहरु रहेकोले ५ लाख पर्यटक भित्र्याईने दाबी गरेका थिए ।
विराटनगरको सहिद रंगशालामा तामझामका साथ शुरु भएको पर्यटन वर्षलाई स्वागत गर्नको लागि हेलिकोप्टरबाट पुष्पबृष्टी समेत गरिएको थियो । उद्घाटन समारोहलाई भव्य बनाउन अहोरात्र खटिएका मुल समारोह व्यवस्थापन उप समितिका संयोजक फडिन्द्र अधिकारीले भ्रमण वर्षको उद्घाटन भव्य भएको बताउँदै प्रदेश १ सरकारले राखेको लक्ष भन्दा बढी पर्यटक आउने दाबी गरे ।
बिराटनगरको शहिद रंगशालामा हजारौं व्यक्तिका बिच सम्पन्न भएको उद्घाटन समारोहमा बिभिन्न ११ वटा झाँकीहरु प्रस्तुत भएका थिए भने त्यो सँगै बिभिन्न क्षेत्रबाट आएका सर्बसाधारण सहित संघ संस्थाहरु ब्यानर सहित प्रस्तुत भएका थिए ।