पुस २४, पहिलो नेपाल – इराकस्थित अमेरिकी सैन्य अखडामा इरानले गरेको क्षेप्यास्त्र आक्रमणप्रति प्रतिक्रिया जनाउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग सम्झौताका लागि सबै मिलेर काम गर्नुपर्ने बताएका छन्।
ह्वाइट हाउसबाट बुधबार सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले सबैको अनुमानविपरीत सुरक्षित विश्व निर्माणका लागि इरानसँग नयाँ सम्झौतामा जोड दिए। सम्बोधनका क्रममा उनले गत शुक्रबार अमेरिकी हमलामा मारिएका इरानी उच्च सैन्य कमान्डर कासिम सुलेमानी विश्वकै उच्च आतंकवादी रहेको समेत जिकिर गरेका छन्। उनले सुलेमानीका विषयमा यसअघि दिँदै आएको प्रतिक्रिया नै दोहो-याएका छन्।
इरानी क्षेप्यास्त्र हमलामा कुनै हताहती नभएको भन्दै ट्रम्पले भने, ‘हाम्रा सबै सेना सुरक्षित छन् र हाम्रो सैन्य शिविरमा थोरै मात्र क्षति भएको छ।’ सम्बोधनकै क्रममा राष्ट्रपति ट्रम्पले आफ्नो राष्ट्रपतीय कार्यकालमा अमेरिकाले ऊर्जा स्वतन्त्रता प्राप्त गरेको जिकिर गर्दै अब अमेरिकालाई मध्यपूर्वको तेल नचाहिने घोषणा पनि गरेका छन्। उनले इरानमाथि थप प्रतिबन्धको घोषणा पनि गरेका छन्।