माघ १, पहिलो नेपाल – स्थानीय संस्कृति र जातीय खानाको प्रवर्द्धन गर्ने उद्देश्यका साथ विराटनगरमा विराट सडक महोत्सव–२०७६ सुरु भएको छ । महोत्सवको विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले उद्घाटन गरेका छन् । महोत्सवमा विभिन्न परिकार तथा समुदाय विशेषका खानाका परिकार, विभिन्न राष्ट्रिय कलाकारद्धारा सांगितीक प्रस्तुती र विभिन्न संस्कृति झल्किने नृत्य मुख्य आकर्षक रहेका छन् ।
माघ ४ गतेसम्म चल्ने महोत्सवलाई मञ्जिना मुभिज क्रियशसनले आयोजना गरेको हो ।उद्घाटन पश्चात बोल्दै मेयर पराजुलीले यस किसिमको कार्यक्रम आगामी दिनमा पनि हुनुपर्ने बताउँदै महानगरपालिकाले निरन्तर सहयोग गर्ने बताउँदै महानगरपालिकाले पनि छिट्टै सडक महोत्सव गर्ने घोषणा समेत गरे ।
उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले सडक महोत्सव महत्वपूर्ण भएको बताउँदै सफलताको शुभकामना व्यक्त गरेका थिए । ५० वटा स्टल रहेको महोत्सवमा नेवारी, थारु, मारवाडी, थकालीसहित स्थानीय विभिन्न खानाका परिकारहरू रहेका छन् भने फुट ट्रक थप आकर्षणका रुपमा रहेको छ ।
त्यस्तै खाना बाहेक स्थानीय उत्पादन, व्यावसायिक स्टल पनि रहेका छन् भने बालबालिकाका लागि गेमजोन, हरेक साँझ स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति समेत रहनेछ ।
महोत्सवमा सीमावर्ती भारतीय बजार जोगबनी, फारविसगञ्ज, सुनसरी, मोरङ, झापा लगायतका १ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र १ करोडको करोबार हुने अपेक्षा आयोजकले गरेको छ । हरेक दिन ३ देखि राति ८ बजेसम्म सञ्चालन हुने महोत्सवमा अनिल सिंह, सुमग पोखरेल, आल्मोडा राना लगायतका कलाकारहरुले सांगितीक प्रस्तुती रहने बताइएको छ ।