माघ ६, पहिलो नेपाल – प्रदेश १ को लोकसेवा आयोग गठन भएको छ । प्रदेश १ को लोकसेवा अध्यक्षमा उत्तम भट्टराईको नाम सिफारिस भएको हो । मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा रहेको सिफारिस समितिले अध्यक्षमा भट्टराईलाई सिफारिस गरेको हो ।
सोमबार बसेको समितिको बैठकले समितिको सदस्यमा पूर्वउपसचिव टिकादत्त राई र महिलातर्फबाट सजना दाहाल (सीमा आभास)को नाम सिफारिस गरेको छ । ६१ वर्षीय भट्टराई नेपाल सरकारका पूर्व कृषि सचिव हुन् ।
नेपाली कांग्रेसको कोटाबाट सिफारिस भएकी दाहाल साहित्यकार हुन् । उनी प्राध्यापन पेसामा आवद्ध छिन् । आयोगको पदाधिकारी बन्न मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेको, नियुक्तिको बेला कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने प्रावधान छ ।
लोकसेवा पदाधिकारीको कार्यकाल ६ वर्षको हुनेछ । उमेरहदका कारण अध्यक्ष भट्टराईले ४ वर्षमात्र काम गर्न पाउनेछन् । आयोगका पदाधिकारीलाई प्रदेश प्रमुखले नियुक्त गरेपछि उच्च अदालतका मुख्य न्यायाधीशले सपथ ग्रहण गराउनुपर्ने प्रावधान छ ।