माघ ७, पहिलो नेपाल – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्ववियूको जिल्ला नेतृत्व चयनमा वरिष्ठ नेता माधव नेपाल समुहले असन्तुष्टि जनाएको छ । समुहका अनेरास्ववियूका निवर्तमान सचिव सुदेश पराजुली, वसिम आलम र लेखा आयोगका अध्यक्ष धर्मेन्द्र रोकायाले केही जिल्लामा मापदण्ड विपरित नेतृत्व चयन गरिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
अनेरास्ववियूका इञ्चार्ज हितमान शाक्य, सह इञ्चार्ज बिनोद ढकाल, संयोजक ऐन महर तथा सह संयोजक रञ्जित तामाङलाई लिखित असहमति पत्र बुझाएको निवर्तमान सचीव सुदेश पराजुलीले बताए । जिल्ला नेतृत्व टुंगो लगाउँदा बझाङ, हुम्ला, चितवनलगायत एक दर्जन जिल्लामा मापदण्ड मिचिएको उनीहरुको आरोप छ ।
‘जिल्ला नेतृत्व टुंगो लगाउँदा निवर्तमान जिल्ला अध्यक्ष, उपाध्यक्ष, सचिवसहित पदाधिकारीहरुलाई वरियताअनुसार बाडफाँट गर्ने मापदण्ड बनेपनि एक दर्जन जिल्लामा गुटका आधारमा आफ्ना मान्छेलाई जिम्मेवारी दिने काम भएकोले असहमति पत्र बुझाउनुपरेको निवर्तमान सचिव पराजुलीले भने । ती जिल्लामा निवर्तमान अध्यक्षलाई बाइवपास गरेर सचिवालय सदस्यलाई अध्यक्ष बनाउने गम्भिर त्रुटि भएको पनि उनीहरुको आरोप छ । तत्कालीन एमाले निकट अनेरास्ववियू र माओवादी निकट अनेरास्ववियूबीचको एकताका क्रममा जिल्ला अध्यक्ष र सचिव एक अर्काले लिने सहमति भएको थियो ।