कोसिस सुवेदी :
लामो समय देखिको परिवारवादी सामान्ती सत्ता जनताको हातमा आइसकेपछि जनताले नै छानेका प्रतिनिधिहरु मार्फत संविधान जारी भएसँगै सम्पन्न भएको तिनै तहको निर्वाचन पछि देशमा यतिबेला राजनीति स्थायित्व छ । नेपाली जनता, नेपाली युवा-बिद्यार्थी, राजनैतिक पार्टीहरुले एउटा राजनैतिक आन्दोलनको सुरक्षीत अवतरण गराइसकेका छन् । अब राजनीतिको नाममा देशमा कुनै किसिमको बन्द हडताल गर्नुपर्ने जरुरी छैन, त्यसको लागि हामी सबैले विभिन्न राजनीतिक आन्दोलनको नेतृत्व गर्ने सबैलाइ धन्यवाद दिनैपर्छ। मुलुक “सम्पन्न र समृद्ध ” बनाउन राजनैतिक आन्दोलन सफल हुनुले मात्र पुग्दैन त्यसको लागि शिक्षा ,स्वास्थ र रोजगारको उचित ब्यवस्थापन हुन आवश्यक छ । आज म यस लेख मार्फत नेपालको शिक्षा क्षेत्रसँग जोडिएको पुर्वान्चल विश्वविद्यालयका कुरा उठाउन खोजिरहेको छु । नेपालको पहिलो विश्वविद्यालयको स्थापना भएको लामो समयपछि केन्द्रीकृत शिक्षा प्रणालीलाई बिकेन्दृकरण गरि राज्यको सबै ठाउँमा विश्वविद्यालय स्तरको शिक्षा पुर्याउने उद्देश्यका साथ नेपालको पुर्वी छेत्रको मोरङ जिल्लामा पुर्वान्चल विश्वविद्यालयको स्थापना भएको हो । विश्वविद्यालयको स्थापना हुनु राम्रो भएतापनी यसले दिने शैक्षिक गुणस्तर कस्ता छन भन्ने कुरा प्रमुख हुन्छ। विश्वविद्यालय स्थापना भएको यतिका बर्ष पुगिसके पनि बिद्यार्थीको संख्याको आधारमा हेर्ने हो भने पुर्वान्चल विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय पछि नेपालको दोस्रो ठूलो विश्वविद्यालयमा पर्छ तर यसले प्रदान गर्ने शिक्षा र सुविधाको आधारमा हेर्ने हो भने विश्वविद्यालय हो भन्न पनि नाक खुम्च्याउनु पर्ने अवस्था छ।
विश्वविद्यालय खोलिसकेपछी यसको प्रमुख उदेश्य भनेको गुणस्तरीय शिक्षा प्रदान गरेर देशमा क्षमतावान जनशक्ति उत्पादन गर्नु हो तर आजको दिनमा दु:खको साथ भन्नुपर्छ पुर्वान्चल विश्वविद्यालयले क्षमतावान विद्यार्थी उत्पादन गर्नुको साटो उल्टै क्षमतावान विद्यार्थीलाई पनि कमजोर बनाएर निकाल्छ भन्ने चिन्ता विश्वविद्यालयको पछिल्लो रवैया देखि बढ्न थालेको छ । पुर्वान्चल विश्वविद्यालयका सामान्य कर्मचारी देखि विद्यार्थीहरु सबै विश्वविद्यालय देखि सन्तुष्ट छैनन् र पुर्वान्चल विश्वविद्यालय के कारणले पछि परिरहेको छ आज यसको जवाफ सबैले खोजिरहेका छन । मौका परिक्षा नहुनु, परिक्षा समयमा नहुनु , परिक्षा समयमा भएता पनि नतिजा चाँडै प्रकाशित नहुनु , ढिला आएको नतिजामा पनि निकै लापरबाही हुनु जस्ता कुराहरू विश्वविद्यालयका विद्यार्थीहरुका अन्य थुप्रै समस्याहरु मध्येका प्रमुख समस्या हुन ।पुर्वान्चल विश्वविद्यालय जस्तै नेपालका अन्य विश्वविद्यालयले पनि यी कुराहरू लागू गराउन सक्नु तर पुर्वान्चल विश्वविद्यालयले चाहिँ किन नसकेको भनी बारम्बार विद्यार्थीहरुले झस्काइरहेका छन तर विश्वविद्यालयका सरोकारवाला व्यक्तिहरु यसको जवाफ दिन सकिरहेको अवस्था छैन्। विश्वविद्यालय अहिले उपकुलपति बिहिन छ , शक्तिशाली भनिएको सरकारले उपकुलपति नियुक्ति गर्न नसक्दा यस विश्वविद्यालयमा पढ्ने २५ हजार भन्दा बढी विद्यार्थीहरु अभिभावक बिहिन बनेका छन्। समग्रमा विश्वविद्यालय आफै अभिभावक बिहिन बनेको छ । उपकुलपति नभएकै कारण विश्वविद्यालय अनिर्णयको बन्दि बनेको छ ।अनेरास्ववियू र विश्वविद्यालय बिच मौका परिक्षा गर्ने भनेर भएको सहमति कागजमै सिमित भएको छ । पुर्वान्चल विश्वविद्यालयका विद्यार्थीहरुका लागि मौका परिक्षा भनेको “आकाशको फल आखा तरि मर” भन्ने नेपाली उखान सँग मिल्ने अवस्था आयो किनभने पटक पटक सहमति भएको मौका परिक्षाको विषय पनि कहिले उपकुलपतिको कार्यकाल सकिन लागेको त कहिले नया उपकुलपति नभएको भन्दै विश्वविद्यालय बाट टार्ने गरिएको छ ।विद्यार्थीहरुसँग सहमति गरेको मौका परिक्षा त लागू गर्न नसक्ने विश्वविद्यालयबाट अरु के आस गर्न सकिन्छ र ?
समग्रमा भन्ने हो भने विश्वविद्यालयलाई यो अवस्थामा ल्याउन नेपाल सरकारको पनि उत्तिकै दोष रहेको बुझ्न सकिन्छ। नेपाल सरकारबाट पुर्वान्चल विश्वविद्यालयलाई हेर्ने नजर परिवर्तन हुन जरुरि छ। यस विश्वविद्यालयमा पढ्ने हजारौं विद्यार्थीहरु पनि यहि देशका जनता हुन, यहि देशका विद्यार्थी हुन, यहि देशका भबिस्य हुन, यहि नेपाली माटोलाइ अन्तर्राष्ट्रिय स्तरमा चिनाउने देशका इज्जत हुन तर पनि पुर्वान्चल विश्वविद्यालयका विद्यार्थीहरु प्रती राज्यबाट सौतेनी व्यवहार किन भैरहेको छ ? यो विश्वविद्यालय केही ब्यक्तीहरुका लागि कमाइखाने भाँडो मात्र हो त ? देशको हजारौं विद्यार्थी पढ्ने विश्वविद्यालयलाई बेवास्ता गरेर नेपाल सरकारले देखेको “समृद्ध नेपाल सुखी नेपाली” को नारा पूरा हुन सम्भव छ ? विश्वविद्यालयका सम्पूर्ण बिद्यार्थीहरुको नेपाल सरकारलाई यहि प्रश्न छ। तर्सथ बिगत ६ महिना देखि रिक्त रहेको उपकुलपतिको चाँडो भन्दा चाँडो नियुक्ति गरि विद्यार्थीहरुको समस्या सरकारको स्तरबाट नै हल गर्नुपर्ने देखिन्छ । होइन भने विश्वविद्यालय खोलेर विद्यार्थीहरुलाइ ठग्दै आफ्ना नातागोता भर्ती गरि केही ब्याक्तिको स्वार्थ पुर्ती गर्ने र कमाइखाने भाँडो मात्र बनाउने हो भने विश्वविद्यालयलाई आजकै मितिबाट खारेज गरिएको घोषणा गरियोस् ।
लेखक :- कोसिस सुवेदी (उनी पुर्वान्चल विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ सङ्कायका विद्यार्थी हुन् )