फागुन १, पहिलो नेपाल – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन अनेरास्ववियूका सह-संयोजक रञ्जित तामाङले हार्ने मानसिकताले नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव भाढ्ने कोसिस गरेको बताएका छन् । महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा नवआगन्तुक विद्यार्थीहरुको स्वागत कार्यक्रममा बोल्दै तामाङले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै तामाङले भने “विगतका वर्षमा नेपाल विद्यार्थी संघले हामीलाई एक वर्ष समय माग्दा दियौँ । यसवर्ष एक महिनाको समय मागेको छ । हामी एक वर्ष समय दिन्छौँ तर यसवर्ष स्ववियु चुनाव कुनै पनि हालतमा हुनुपर्छ । नेविसंघ यो वा त्यो वहानामा मैदानबाट भाग्नु हुँदैन ।” साथै उनले नेविसंघसँग चैत्र १४ मा स्ववियु चुनाव गर्ने मौखिक समझदारी भएपनि नेविसंघले त्रिभुवन विश्वविद्यालयको रेक्टर पद आफ्नो पार्टिले पाउनुपर्ने अडान राख्दै स्ववियु चुनावबाट भाग्न खोजिरहेको बताए ।
यसअघि फागुन १४ मा स्ववियु चुनाव गर्ने भनी त्रीवीले मिति तोकेपनी नेविसंघको कारणले तोकिएको मितिमा चुनाव नहुने निश्चित भएको हो । नेपालको शैक्षिक क्षेत्रको प्रत्यक्ष सरोकार राख्ने स्ववियु निर्वाचन शैक्षिक परिवर्तनको लागि पनि हुन आवश्यक रहेको उनले बताएका थिए ।
त्यस्तै कार्यक्रममा बोल्दै अनेरास्ववियूका केन्द्रिय सदस्य ओसिम आलमले नेविसंघले स्ववियुको उमेरहद एकपटकलाई हटाउनुपर्ने माग राख्दै आएकोप्रती आपत्ति जनाए। उनले स्ववियुको उमेरहद कुनैपनी हालतमा हटाउन नसकिने उल्लेख गरे । उनले स्ववियु चुनावमा स्वच्छ प्रतिस्पर्धामा जित्नको लागि मैदानमा आउन नेविसंघ लगायतका विद्यार्थी संगठनलाई अनुरोध समेत गरे।
स्वतन्त्र विद्यार्थी युनियनको चुनाव विद्यार्थी संगठनको प्रमुख उपलब्धी र प्रमुख प्राथमिकतामा रहेकोले पनि स्ववियु चुनाव गराउनु पर्ने आलमले बताए ।