फागुन १७, पहिलो नेपाल – एसिसी इस्टर्न रिजन पुरुष टी-२० क्रिकेट अन्तर्गत नेपाली क्रिकेट टिमले आज मलेसियाको सामना गर्दैछ। आज दिउँसो १२: १५ मा शुरु हुने खेलमा नेपालले पहिलो प्रतिद्वन्दीको रुपमा मलेसियाको सामना गर्न लागेको हो।
केही हप्ता अघि एकदिवसिय फर्म्याटमा ओमन र अमेरिकासँग खेलेको नेपाली टिममा यसपाली टी-२० का लागि युवा खेलाडी बाहुल्यता छ।
प्रतियोगितामा नेपाल, थाइल्यान्ड, मलेसिया, हङकङ र सिंगापुरको सहभागिता रहने छ। चीन, भुटान र म्यानमारले कोरोना भाईराअको कारण देखाउँदै प्रतियोगिता नखेल्ने बताएपछि ५ देशले एक अर्कासँग राउन्ड रोबिनको आधारमा प्रतियोगिता खेल्नेछन्।
नेपालले अरु खेल मार्च १ मा हङकङ, मार्च ४ मा थाइल्यान्ड र मार्च ६ मा सिंगापुरसँग खेल्ने छ। प्रतियोगिताका शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन्।
नेपाल र मलेसियाका पछिल्ला खेलहरुलाई हेर्दा नेपाल बलियो स्थितिमा देखिन्छ। नेपाल र मलेसियाबीचका पछिल्ला तीन टी २० खेलमा नेपालले सबै खेल जितेको छ। पछिल्लो समय नेपाल र मलेसिया २०१९ को जुलाईमा आमनेसामने भएका थिए। यी टिम अहिलेसम्म ७ पटक टी २० मा आमनेसामने भएका छन् जसमा ६ पटक नेपालले जित निकालेको छ।
नेपाली टिम :
ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान),पारस खड्का, बिनोद भण्डारी, मोहम्मद आरिफ शेख, सन्दीप लामिछाने, अभिनास बोहरा, करण केसी, कुशल मल्ल, सुशन भारी, पवन सरार्फ, सुन्दीप जोरा, किशोर महतो, भुवन कार्की