फागुन २५, पहिलो नेपाल – उपभोक्ताले खाना पकाउने ग्यास चाहिनेभन्दा बढी संचित गर्न थालेपछि बजारमा प्रत्यक्ष असर परेको छ । कोरोना भाइरसको त्रासका कारण एकै व्यक्तिले अत्याधिक संख्यामा सिलिन्डर संचित गरेपछि बजारमा ग्यास अभाव भएको हो । यसबाट निम्नवर्ग, मजदूर र विद्यार्थी मर्कामा परेका छन्।
भूकम्प र नाकाबन्दीको समयमा तर्सिएका उपभोक्ताले त्यस्तै अवस्था आउन सक्ने त्रासमा आवश्यकताभन्दा बढी सिलिन्डर भरेर जम्मा गरेका हुन् । उपत्याकामा दैनिक ७ हजार सिलिन्डर माग बढेको व्यवसायीले बताएका छन् । ग्यास बिक्री हुने व्यापारिक प्रतिष्ठानमा लामो लाइन लाग्न थालेको छ ।
नेपाल आयल निगमका अनुसार मध्यमवर्ग र उच्चवर्गले कम्तीमा पाँचदेखि १० वटासम्म सिलिन्डर संचित गर्ने गरेका छन् ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार सामान्य अवस्थामा चार जनाको परिवारलाई मासिक एउटा सिलिन्डरले पुग्थ्यो । अहिलेत्यस्ता परिवारले पाँचवटासम्म सिलिन्डर जम्मा पारेका छन् । उनले चार जनाभन्दा बढी सदस्य भएको परिवारले १० वटासम्म सिलिन्डर भरेको दाबी गरे ।
‘निम्नवर्गले गास नपाएर सास्ती व्यहोर्न बाध्य छन् । ग्यास पर्याप्त मात्रामा छ । नियमित रूपमा बढी परिणाममा आयात भइरहेकाले थुपार्न आवश्यक छैन,’ पौडेलले भने, ‘चाहिएको अवस्थामा जतिपनि उपलब्ध गराउन सक्षम छौं ।’ (अन्नपूर्ण दैनिकबाट)