चैत्र २, पहिलो नेपाल – सार्क राष्ट्रका प्रमुखहरुले आज संयुक्त छलफल गर्ने भएका छन् । कोरोना भाइरसविरुद्ध बलियो रणनीति बनाउन साँझ पाँच बजे सार्क नेताहरुको भिडियो कन्फेरेन्सको तयारी छ ।
भिडियो कन्फेरेन्समा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुँदैछन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भिडियो कन्फरेन्समा सहभागी हुने टुंगो लागिसकेको छ । बँगलादेश र भुटानबाट प्रधानमन्त्री, मालदिभ्स, अफगानिस्तान र श्रीलंकाबाट राष्ट्रपति सहभागी हुनेछन् । यी देशका नेताहरुले मोदीको प्रस्तावको स्वागत गरेका थिए । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भने कुनै सार्वजनिक जवाफ दिएनन् ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क सदस्य राष्ट्रहरु मिलेर कोरोना भाइरसविरुद्ध बलियो रणनीति बनाउने प्रस्ताव गरेका थिए । उनले शुक्रबार दिउँसो यसबारे सबै नेताहरुले छलफल गरेर रणनीति बनाउन प्रस्ताव गरेका थिए । सार्क शिखर सम्मेलन हुन नसकिरहेको र सार्क निष्कृय जस्तै भइरहँदा मोदीले सार्क राष्ट्र मिलेर अगाडि बढ्नुपर्ने बताउनुलाई अर्थपूर्ण मानिएको छ ।