चैत्र ५, पहिलो नेपाल – विराटनगरमा जारी २१ वर्षमुनिको अन्तर कलेज लिगकप नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि निहारिका र ग्रिनल्याण्ड कलेज भिड्ने भएका छन् । बुधबार सम्पन्न सेमिफाइनलका खेलहरुमा विजयी हुँदै निहारिका र ग्रिनल्याण्डले फाइनलसम्मको यात्रा सुनिश्चित गरेका हुन् ।
पहिलो सेमिफाइनल खेलमा निहारिकाले कोसी मल्टिपल कलेजलाई ३–१ को गोलअन्तरमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । निहारिकाका लागि खेलको ३० औं मिनेटमा सुजन शर्माले गोल गरे भने ४८ औं मिनेटमा मनकुमार राई र ५५ औं मिनेटमा सनम धिमालले गोल गरे। त्यस्तै कोसिका लागि ४३ औं मिनेटमा रितिक खड्काले गोल गरे। खेलको म्यान अफ द म्याच निहारिकाका मनकुमार राई घोषित भए । उनले नगद ३ हजार १ सय रुपैयाँ प्राप्त गरे ।
यस्तै दोस्रो सेमिफाइनलमा विराटनगरको ग्रिनल्याण्ड कलेजले विराटनगरकै कान्तिपुर कलेजलाई १–० गोलअन्तरमा पराजित गर्दै फाइनलमा प्रवेश गर्यो। खेलको ६२ औं मिनेटमा ग्रिनल्याण्डका सञ्जय धिमालले गरेको गोल नै निर्णायक बन्न पुग्यो । खेलको म्यान अफ द म्याच ग्रिनल्याण्डका सञ्जय धिमाल नै भए । उनले नगद ३ हजार १ रुपैयाँ प्राप्त गरे ।
विराट बुद्ध स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगिता ८ गते सम्पन्न हुने तय भएको थियो । कोरोनाको त्रासलाई लक्षित गर्दै आयोजकले ६ गते नै फाइनल खेल सक्ने निर्णय गरेको क्लवका अध्यक्ष रोहित कोइरालाले बताए ।
प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार र उपविजेताले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँका साथ १ वर्षको ५ लाख रुपैयाँको बिमा, उत्कृष्ट गोलरक्षकले नगद १० का साथ २ लाख ५० हजार रुपैयाँको १ वर्षका लागि बिमा, सर्वाधिक गोलकर्ताले नगद १० का साथ २ लाख ५० हजार रुपैयाँको १ वर्षका लागि बिमा प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट डिफेन्स र मिडफिल्डले जनही नगद १० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।