चैत्र १८, पहिलो नेपाल –
कोरोना भाइरस महामारीलाई रोकथाम र नियन्त्रणका लागि सरकारले देश लकडाउन गरेपछि गरिब र मजदुरहरु बढी प्रभावित छन्। सडक पेटिमा बस्ने गरिब तथा मजदुरहरुलाई विराटनगरका युवाहरुले निशुल्क खाना वितरण गरेका छन्।
विराटनगरका विभिन्न सडक पेटिमा बस्ने दिनदुखी तथा गरिबहरुलाई निशुल्क खाना खुवाईएको छ। विराटनगरका सामाजिक अभियन्ताहरुले मिलेर खाना खुवाउन सुरु गरेका हुन्। पहिलो दिन ९६ जना र दोस्रो दिन १ सय जनालाई खाना खुवाएको छ।
विराटनगरको विभिन्न सडक पेटिमा बस्ने गरिब तथा दिनदुखीहरुलाई मंगलबारबाट नियमित रुपमा लक डाउन अवधिभर खाना खुवाउने नेकपाका युवा नेता तथा समाजसेवी ओसिम आलमले जानकारी दिए। सरकारले गरिब तथा मजदुरलाई राहत वितरण गरेपनी नागरिकता विहिन जो सडक पेटिमा रात बिताउँछन उनिहरु भोकभोकै मर्ने अवस्था आएकोले खाना खुवाईएको पनि आलमले बताए। उनले भने, ‘ सडक पेटिमा रात बिताउँछन् , लक डाउन भएकोले सबै बन्द छ। काम केही नभएसी खाना खाने अवस्था नै छैन। नागरिकता नभएपछी सरकारले दिने राहत पनि पाउँदैनन् त्यसैले उनिहरुलाई खाना खुवाईएको हो।’
लकडाउन अवधिभर खाना बनाउन रोयल विर्यानी हाउसका संचालक तथा समाजसेवी पप्पु अन्सारीले सहयोग गरेका छन्। उनले भने, ‘ भोकभोकै बसिरहेका गरिब दुखीलाई सहयोग गर्न पाउँदा खुसी लागेको छ। लकडाउन अवधिभर नियमित रुपमा खाना बनाएर सहयोग गर्ने छौँ।’
युवा नेता ओसिम आलम, सामाजिक अभियन्ता पेरिस सुवेदी , पप्पु अन्सारी , दिपेन मरिक , गणेश शाह लगायतको टिमले यो अभियान सुरु गरेका हुन्। मंगलबार बाट सुरु गरिएको अभियान लकडाउन अवधिभर जारी रहनेछ।