चैत्र २१, पहिलो नेपाल-
प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको विशेष सक्रियतामा विराटनगरमा कोरोना अस्पताल संचालन भएको छ। प्रदेश १ सरकार र विराटनगर महानगरपालिकाको संयुक्त लगानी रहेको अस्पताल संचालनका लागी मन्त्री घिमिरे सक्रिय रुपमा खटिएका थिए।
विराटनगर १० स्थित नेशनल ट्रेडिङको भवनलाई मर्मत सम्भार गरी १० वटा भेन्टिलेटरसहितको ५० शैयाको कोरोना अस्पताल सञ्चालन गरिएको हो ।
अस्पतालको उद्घाटन मुख्यमन्त्री शेरधन राईले गरेका हुन्। शुक्रबारबाट संचालनमा आएको अस्पतालमा सामाजिक विकास मन्त्री जीवन घिमिरे दिनरात खटिएका थिए।
मन्त्री जीवन घिमिरेले अस्पतालमा स्वास्थ्यकर्मी, चिकित्सक, कर्मचारी खटाएर सञ्चालन गर्ने जिम्मेवारी कोशी अस्पताललाई दिइएको बताए । ‘यस अस्पतालभित्र कोरोना संक्रमित बिरामी र स्वास्थ्यकमी, चिकित्सक तथा कर्मचारी मात्रै प्रवेश गर्न पाउने छन्,’ उनले भने, ‘अस्पताल परिसरको मूल गेटको टेण्टमा सञ्चालन भएको अस्पतालको कार्यालयसम्म मात्रै जो कोही पनि आउन पाउने व्यवस्था गरिएको छ ।’
उपचारमा संलग्न चिकित्सकहरुको बिमा, संक्रमित भएको अबस्थामा निःशुल्क उपचार र अतिरिक्त भत्ताको प्रदेश सरकारले व्यवस्था गरेको मन्त्री घिमिरेले बताए । अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीलाई खाने र बस्ने व्यवस्था अस्पताल भित्रै गरिएको उनले बताए । स्वास्थ्यकर्मी, चिकित्सकहरुको सुरक्षात्मक सामग्रीको प्रदेश सरकारले परिपूर्ति गर्ने घिमिरेले प्रतिबद्धता जनाए ।
प्रदेश सरकारले चैत ७ गते नेशनल ट्रेडिङ भवनमा कोरोना अस्पताल ७ दिनभित्र निर्माण गरी सञ्चालनमा ल्याउने घोषणा गरेको थियो । घोषणा गरेलगत्तै सामाजिक विकास मन्त्री फिल्डमा खटिएका थिए। मन्त्री आफै खटिएपछी अस्पताल एक हप्तामै संचालनका लागि योग्य भएको हो। अस्पताललाई पछि शिक्षण अस्पतालको रुपमा सञ्चालन गर्ने मन्त्री घिमिरेले बताएका छन्।