चैत २५, पहिलो नेपाल –
लकडाउनका कारण समस्यामा परेकाहरुलाई राहत वितरण गरिएका फोटो तथा भिडियोहरु सामाजिक सञ्जाल वा सञ्चार माध्यममार्फत् प्रचार नगर्न सरकारले मातहतका निकायलाई निर्देशन दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहहरुलाई सर्कुलर गर्दै प्रचारात्मक काम नगर्न निर्देशन दिएको हो ।कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि सरकारले ११ चैतदेखि देशभर लकडाउन गरेको छ । लामो समयको लकडाउनका कारण समस्यामा परेका श्रमिक वर्ग, गरिब तथा विपन्न परिवारको लगत संकलन गरी उनीहरुलाई राहत बाँड्न सरकारले स्थानीय तहलाई जिम्मा दिएपनि कतिपयले आफूखुसी राहत बाँड्दै सामाजिक सन्जालमा भद्दा प्रचार गरिरहेका छन् । कतिपयले त स्वास्थ्यकर्मीहरुले व्यक्तिगत सुरक्षाका लागि लगाउने पीपीई लगाएर आफ्नो फोटो सामाजिक सन्जालमा राखेको पाइएको थियो । मन्त्रालयले सर्कुलर जारी गर्दै राहत वितरणको सस्तो प्रचारबाजीले जनमानसमा राम्रो सन्देश नजानेतर्फ स्थानीय तहहरुको ध्यानाकर्षण गराएको छ ।
हेर्नुस् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सर्कुलर