चैत्र २८, पहिलो नेपाल –
नेपाली कांग्रेसकी प्रदेश सांसद बिन्दिया कार्कीको पहलमा कोसी अस्पतालमा बिरामी र तिनका कुरुवाहरुलाई खाना खुवाईएको छ। अस्पतालमा उपचार गराउन भर्ना भएका बिरामी र तिनका कुरुवालाई सांसद कार्कीको पहलमा गएको सोमबारबाट खाना खुवाउन थालिएको हो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि सरकारले लक डाउन गरेपछि अस्पताल भर्ना भएका विरामी र तिनका कुरुवाहरुका साथसाथै अस्पतालका कर्मचारीलाई समस्या भएपछि खाना खुवाउन सुरु गरिएको सांसद कार्कीले बताईन् । कार्कीले भनिन्, “अस्पतालको क्यान्टिनले समेत बिरामी बाहेककाहरूलाई माग भएजति खाना खुवाउन नसक्ने बताएपछी बिरामी र कुरुवा समस्यामा रहेको पाएपछि हामीले पहल लिएर सोमबार साँझबाट खाना खुवाउन शुरु गरेका हौं ।” कार्कीले हालसम्म १ हजार भन्दा धेरैलाई खाना खुवाइएको जानकारी दिइन् ।
अभियानमा उद्योगी प्रकाश मुन्दडा लगायतले सहयोग गरेका छन्। सांसद कार्कीले सुरुवाती दिनमा आफै खर्च गरेर खाना खुवाएपनि अहिले सहयोगी दाताहरु भएको बताईन् । उनले भनिन्, ‘अहिले सहयोगी दाताहरु हुनुहुन्छ। सहयोग गर्ने दाताहरु नभए पनि हामी लकडाउन अवधिभर खाना खुवाउँछौ।’
राधाकृष्ण धर्माशालामा खाना बनाएर सबैलाई प्याक गरिएको भेज बिरियानी खुवाउँदै आएको समेत सांसद कार्कीले बताईन्। अभियानमा तरुण दल विराटनगरले पनि साथ दिएको छ । तरुण दलका जिल्ला अध्यक्ष सञ्जय थापा, उपाध्यक्ष खेम थापा, कोषाध्यक्ष अनिल रिजाल, विराटनगर अध्यक्ष सन्तोष न्यौपाने र नेविसंघका पूर्व सहमहामन्त्री कृष्ण कार्कीलगायतले सहयोग गरेका छन् ।