वैशाख ३, विराटनगर –
दिल्लीबाट फर्केका दुई जना जमातीमा र्यापिड परीक्षणका क्रममा कोरोना संक्रमण पोजेटिभ देखिएपछि सप्तरीका दुई स्थानीय तहका दुई वडालाई सिल गरिएको छ ।
बुधबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले खड्क नगरपालिकाको वडा नम्बर ११ र तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर १ लाई सिल गर्ने निर्णय गरेको हो । अब यो दुई स्थानीय तहका व्यक्ति घर बाहिर अथवा भित्र जान सक्दैनन् ।
दिल्लीबाट फर्केर घरमा बसिरहेका यी दुईसहित आठ जनालाई प्रहरीको टोलीले मंगलबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याएर र्यापिड परीक्षण गराएको थियो । दुई जनाको पोजेटिभ र ५ जनाको नेगेटिभ रिपोर्ट आएको थियो।
दिल्लीबाट आएर घरमा बसेको सूचना पाएपछि प्रहरीको टोलीले खड्क र राजविराज नगरपालिका, तिलाठी–कोइलाडी, अग्निसाइर कृष्णासावरण गाउँपालिकाका ७ जनालाई अस्पताल ल्याएर र्यापिड जाँच गराएको थियो ।