वैशाख ८, काठमाडौ –
सरकारले दुई अध्यादेशको पास गरेलगत्तै नेकपाका प्रभावशाली नेता भीम रावलले आपत्ति जनाएका छन् ।
माधव नेपाल समूहका नेता मानिने रावलले सरकारको आलोचना गर्दैआएका थिए । सोमबार राष्ट्रपतिले जारी गरिसकेका दुई अध्यादेशलाई ‘देशका लागि अनिष्टकारी’ भन्दै कटाक्ष गरे । यसले वाह्य हस्तक्षेप बढाउने र देशमा अनिष्ट ल्याउने भन्दै नेता रावलले खारेजीको माग समेत गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टीमा कुनै छलफल नगरी पार्टी विभाजनलाई सहज तुल्याउने र संवैधानिक परिषदमा नियन्त्रण र सन्तुलनको मान्यतालाई खण्डित गर्ने गरी अध्यादेश ल्याइनु अनुचित र देशका लागि अनिष्टकारी हो ।’
यसअघि नेकपाकै अन्य नेताहरुले पनि अध्यादेशको विरुद्धमा अभिव्यक्ति दिएका छन् । कृषिमन्त्री घनश्याम भुसाल, नेत्री रामकुमारी झाँक्री लगायत नेताहरुले आपत्ति जनाइसकेका छन् ।
रावलले व्यक्त गरेको बिचार यस्तो छ :
‘कोरोना संक्रमणबाट जनताको सुरक्षा गर्न सिंगो राष्ट्रलाई एकतावद्ध गरी अघि बढ्नुपर्ने अवस्थामा पार्टीमा कुनै छलफल नगरी पार्टी विभाजनलाई सहज तुल्याउने र संवैधानिक परिषदमा नियन्त्रण र सन्तुलनको मान्यतालाई खण्डित गर्ने गरी अध्यादेश ल्याइनु अनुचित र देशका लागि अनिष्टकारी हो ।
देशमा राजनीतिक स्थायीत्व र कायम गरी बाह्य चलखेल बन्द गर्ने द्येयले राजनीतिक दलका बीच निकै लामो छलफल र परामर्शपछि सहजै पार्टी फुटाउन नसकिने गरी राजनीतिक दल सम्बन्धी कानुन ल्याइएको थियो । त्यसै गरी तत्कालिन नेकपा एमालेको निकै ठूलो प्रयासपछि संवैधानिक परिषदमा विपक्षी दलको नेता रहने धारणाले संविधानमा स्थान पाएको थियो ।
यसका विरुद्ध ल्याइएका यी दुबै अध्यादेशले देशलाई पुन राजनीतिक अस्थिरता र बाह्य चलखेलको चरण तर्फ धकेल्ने खतरा उत्पन्न भएको छ । यस्ता अनष्टिकारी अध्यादेश खारेज हुनुपर्छ ।’