वैशाख ११, विराटनगर –
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख डा. टेड्रोस अधानोम घेब्रेसेयसले कोरोनाभाइरस अझै लामो समयसम्म रहने बताएका छन्। उनले कोरोनाबिरुद्धको लडाईंमा कुनै पनि लापरवाही नगर्न चेतावनी समेत दिएका छन् ।
अफ्रिका, पूर्वी युरो, मध्य अमेरिका र दक्षिण अमेरिकामा कोभिड–१९ को संक्रमितको संख्या बढेकोमा पनि उनले चिन्ता व्यक्त गरेका हुन् । चाँडै लकडाउन हटाए, भाइरसको संक्रमण पुनः सक्रिय हुने उनको भनाइ थियो ।
पत्रकार सम्मेलनमा डा. टेड्रोसले पश्चिमी युरोपमा महामारी स्थिर वा घट्दो क्रममा रहेपनि धेरै राष्ट्रहरुमा यो सुरुवाती चरणमा रहेको बताए । ‘महामारीको विरुद्ध अझै लामो बाटो जानुपर्ने बताउँदै उनले भने,’ यो भाइरस हामीसँग लामो समय रहनेछ ।’
साथै उनले लकडाउन र सामाजिक दुरी कायम गर्ने उपायले संक्रमणको दर धेरै देशमा कम गरेको बताए। उनले कोरोनाबिरुद्द लापरबाही नगर्न समेत चेतावनी दिए।
हालसम्म विश्वमा २६ लाखभन्दा बढी संक्रमित फेला परिसकेका छन् भने १ लाख ८१ हजारभन्दा बढीले ज्यान गुमाइसकेको छन्।