वैशाख १९, काठमाडौ –
अनेरास्ववियूका पुर्व र वर्तमान नेताहरु कोरोना प्रभावित विद्यार्थीहरुलाई धमाधम राहत सामाग्री वितरण गर्दै आइरहेका छन् । विद्यार्थी नेताहरुले कोरोनाका कारण दैनिक छाक टार्न मुस्किल भैरहेका विद्यार्थीहरुलाई राहत सामाग्री वितरण गरेका हुन् ।
अखिलका वर्तमान नेता सुदेश पराजुलीको नेतृत्वमा काठमाडौ , भक्तपुर र ललितपुर जिल्लामा अफ्ट्यारोमा परेका विद्यार्थीहरुलाई राहत वितरण भैरहेको छ । राहतका लागि अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्दै आएका अखिलका पूर्व नेता राजु नेपालले आर्थिक सहयोग गरेका छन् ।
राहत प्याकेजमा चामल, दाल, नुन, तेल, साबुन लगायतका सामग्री समावेश गरिएको नेता सुदेश पराजुलीले जानकारी दिए। काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रमा बसोबास गर्ने विद्यार्थीहरुलाई उनीहरुको बासस्थान नजिकै पुगेर राहत वितरण गर्ने गरेको समेत नेता पराजुलीले बताए। उनले भने, ‘विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको छ। विगत एक महिना भन्दा अघिदेखि जारी लकडाउनका कारण विद्यार्थीहरुलाई खान नै समस्या भएको बुझेर सहयोग गरेका हौँ। हामी विद्यार्थिहरुको बासस्थान नजिकै पुगेर राहत सामाग्री उपलब्ध गराउँछौं।’ साथै पराजुलीले समस्या परेका विद्यार्थहरुलाई निरन्तर सहयोग गरिरहने बताए।
नेता पराजुलीको नेतृत्वमा अनेरास्ववियूका केन्द्रिय सदस्यहरु महेश श्रेष्ठ, अशोक थापा , मेघनाथ चापागाईँ, अखिलका पूर्व नेता अशोक रावल लगायतले बुधबार र बिहिबार गरि ७० जना भन्दा बढी विद्यार्थीहरुलाई राहत वितरण गरेका छन् । राहत वितरणको काम शुक्रबार पनि जारी रहने अनेरास्ववियूका केन्द्रिय सदस्य अशोक थापाले बताए । नेप्लिज सोसाइटी अफ टेक्सास(अमेरिका)का कार्यकारी सदस्य समेत रहेका अखिलका पूर्व नेता नेपालले अमेरिकामा पनि नेपाली समुदायहरुका लागि सामाजिक काम गरिरहेका छन् ।