वैशाख २४, विराटनगर –
कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मंगलबार विश्वभर ५ हजार ७ सय ७२ जनाले ज्यान गुमाएका छन्। वर्ल्डओमिटरका अनुसार यो सँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर २ लाख ५८ हजार १२ पुगेको छ।
अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३७ लाख २४ हजार ३ सय ४५ पुगेको छ। गएको २४ घण्टामा मात्रै विश्वमा कोरोनाका ८१ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।
संक्रमितमध्ये अहिलेसम्म विश्वभर गरी १२ लाख ३९ हजार ९ सय जना उपचारपछि निको भएर घर फर्किएका छन्।
गएको २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा २३ सय ३५ जनाको मृत्यु भएको छ। यो सँगै अमेरिकामा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ७२ हजार नाघेको छ।
त्यहाँ संक्रमितको संख्या १२ लाख ३७ हजार भन्दा धेरै पुगेको छ भने मंगलबार एकै दिन अमेरिकामा साढे २४ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।
त्यसैगरी बेलायतमा गएको २४ घन्टामा कोरोना संक्रमणबाट ६ सय ९३ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या २९ हजार ४ सय २७ पुगेको छ भने संक्रमितको संख्या १ लाख ९४ हजार ९ सय ९० पुगेको छ।
त्यसैगरी मंगलबार ब्राजिलमा ५७८ जनाको कोरोनाबाट मृत्यु भएको छ भने, फ्रान्समा ३३०, इटालीमा २३६, स्पेनमा १८५, क्यानाडामा १८९, पेरुमा १००, मेक्सिकोमा ११७, स्वीडेनमा ८५, नेदरल्यान्डमा ८६, बेल्जियममा ९२, इरानमा ६३, टर्कीमा ५९, रुसमा ९५, पाकिस्तानमा ३८ जनाले ज्यान गुमाएका छन्।
अहिलेसम्म इटालीमा २९ हजार भन्दा धेरै, फ्रान्समा साढे २५ हजार भन्दा धेरै, स्पेनमा २५ हजार ६ सय भन्दा धेरैको कारोना संक्रमणबाट मृत्यु भइसकेको छ।
हाम्रो छिमेकी देश भारतमा गएको २४ घन्टामा कोरोना संक्रमणबाट १ सय २७ जनाको मृत्यु भएको छ। त्यहाँ सोमबार १ सय ७५ जनाले ज्यान गुमाएका थिए।
भारतमा अहिलेसम्म मृतकको संख्या १६ सय ९३ पुगेको छ भने संक्रमितको संख्या ४९ हजार ४ सय पुगेको छ।
भारतमा मंगलबार एकै दिन २९ सय ६३ जना नयाँ संक्रमित थपिएका छन्। सोमबार भारतमा ३९ सय ३२ जनामा संक्रमण देखिएको थियो।
भारतमा अहिलेसम्म १४ हजार भन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन्। त्यहाँ ३३ हजार पाँच सय ६५ जना उपचारको क्रममा छन्।