वैशाख २७, विराटनगर –
पुर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफ्नो निर्वाचन क्षेत्रमा राहत स्वरुप खाद्यान्न सहयोग गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने विराटनगर वडा नं ६ मा राहत प्याकेज बनाएर खाद्यान्न सहयोग गरेका हुन् ।
मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्य समेत रहेका पण्डितले सहयोग गरेको राहत सामाग्री शनिवार हस्तान्तरण गरिएको छ । ८५ पोका राहत प्याकेज शनिवार विराटनगर वडा नं ६ का वडाअध्यक्ष बिजय कामतलाई हस्तान्तरण गरिएको युवा नेता ओसिम आलमले जानकारी दिए। उनका अनुसार राहत प्याकेजमा १५ किलो चामल, २ किलो आलु, २ किलो दाल, आधा लिटर खाने तेल, १ पोका नुन रहेको छ। त्यस्तै प्याकेजमा १ पोका नुन, १ पोका खोर्सानी धुलो, ७ पिस बिस्कुट , ७ पिस चाउचाउ, २/२ वटा लुगा धुने साबुन र नुहाउने साबुन रहेको छ ।
त्यस्तै वडालाई २५ किलोका १५ बोरा चामल पनि हस्तान्तरण गरिएको छ । युवा नेता आलमले भने, ‘विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको छ। विगत एक लामो समयदेखि जारी लकडाउनका कारण गरिब ,विपन्न तथा मजदुरहरुलाई समस्या परेको भन्दै पुर्व मन्त्री मा. लालबाबु पण्डित ज्युले राहत स्वरुप खाद्यान्न सहयोग गर्नुभएको हो।’ राहत सामाग्री सबै वडाहरुमा वितरण गरिने समेत नेता आलमल्र बताए ।
पुर्व मन्त्री पण्डितले यसअघि पनि आफ्नो निर्वाचन क्षेत्रमा पर्ने बुढिगंगा गाउँपालिकाका विपन्न तथा गरिव घरपरिवारलाई खाद्यान्न वितरण गरेका थिए। उनले बुढिगंगा गाउँपालिकामा ५० बोरा चामल र १० बोरा आलु गरिब तथा विपन्न परिवारलाई वितरण गरेका थिए। त्यस्तै यसअघि विराटनगर वडा नं १२ लाई १० क्विन्टल (१ हजार केजि) चामल समेत हस्तान्तरण गरिएको थियो। साथै सांसद पण्डितकै पहलमा सुन्दरहरैचामा समेत राहत सामाग्री उपलब्ध गराईएको थियो। पण्डितले १ हजार ५ सय केजि चामल र १ सय ५० केजि नुन प्रदान गरेका थिए। त्यस्तै विराटनगरका ५ र ७ नम्बर वडाका अति विपन्न परिवारलाई समेत पण्डितले खाद्यान्न सहयोग गरेका थिए।