जेठ ४, विराटनगर –
विराटनगर महानगरपालिकाको वडा नम्बर ६ र १५ सिल गर्ने निर्णय भएको छ । आज ती वडामा दुईजनामा कोरोना भाइरस संक्रमित भएको पूष्टि भएपछि ती वडा सिल गर्ने जिल्लास्थित सुरक्षा निकायको आकस्मिक बैठकले निर्णय गरेको छ ।
सोमबार विहानदेखि दुवै वडामा मानिसको आवत-जावत र पसलहरु बन्द रहनेछन। दुईवटै वडामा औषधी, दुध र पानी बाहेक सवै प्रकारको सवारी साधन, आवत जावत पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए ।
एसपी अधिकारीका अनुसार संक्रमित दुवैजनालाई अस्पताल लैजानका लागि एम्बुलेन्स व्यवस्थापनको काम भइरहेको र आजै कोभिड १९ उपचार केन्द्र पुर्याइने जानकारी दिए ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा विराटनगर १५ का ३६ वर्षीय पुरुष र वडा नम्बर ६ की २९ वर्षीय महिलामा कोरोना पूष्टि भएको हो ।