जेठ ६, काठमाडौ –
विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण पछिल्ला केहि दिनमा नेपालमा पनि वढ्दो क्रममा देखिएको छ । हिजो (सोमबार) एकै दिन ८० जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो दुई दिनमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने ३३७ जना आइसोलेसनमा उपचाररत छन् । ३६ जना भने उपचारपछि निको भएर घर फर्केका छन्। नेपालमा पहिलो संक्रमित माघ ९ गते देखिएको थियो ।
हालसम्म नेपालका ७७ जिल्लामध्ये ३२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा सबैभन्दा बढी संक्रमित बाँकेमा जिल्लामा देखिएका छन् । बाँकेमा मात्रै कोरोना संक्रमितको संख्या ९४ पुगको छ । त्यस्तै बाँकेपछि पर्सामा ९१ जना कोरोना संक्रमित फेला परेका छन् ।
प्रादेशिक तथ्यांक हेर्दा सबैभन्दा बढि प्रदेश ५ मा १७१ जना र प्रदेश २ मा १३४ जना कोरोना संक्रमित भेटिएका छन् भने कर्णालीमा प्रदेशमा एक जना मात्र कोरोना संक्रमित भेटिएका छन् । प्रदेश ५ र प्रदेश २ कोरोना संक्रमणबाट बढी प्रभावित छन् । दिनानुदिन कोरोनाको संक्रमितको संख्या बढ्दै गएपछि त्यहाँका मानिसमा त्रास पनि बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार प्रदेश १ को उदयपुरमा ३३, झापामा ३, भोजपुरमा १, धनकुटामा १, खोटाङमा १, सुनसरीमा १ र मोरङमा ३ गरेर ४३ जना संक्रमित भेटिएका छन् भने १७ जना उपचारपछि घर फर्केका छन् ।
त्यस्तै प्रदेश २ को धनुषामा ९, पर्सामा ९१, बारामा ४ महोत्तरीमा ३, रौतहटमा २२, सप्तरीमा १, सिरहामा १ र सर्लाहीमा ३ गरि १३४ जना संक्रमित पुष्टि भएका छन् भने ५ जना उपचारपछि घर फर्केका छन् । प्रदेश ३ को काठमाडौंमा ७, काभ्रेपलान्चोकमा १, सिन्धुपाल्चोकमा १, भक्तपुरमा २, चितवनमा ३, धादिङमा ३ र मकवानपुरमा १ जना गरि १८ जनामा कोरोना संक्रमण देखिएको छ भने ६ जना डिस्चार्ज भएका छन् । हालसम्म प्रदेश ३ मा १ जनाको मृत्यु भएको छ ।
त्यस्तै गण्डकीको बागलुङमा २ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १ जना गरी ३ जना संक्रमित भेटिएका छन् भने २ जना निको भएर घर फर्केका छन् । प्रदेश ५ को नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा १, बर्दियामा २, दाङमा ४, गुल्मीमा १, बाँकेमा ९४, रुपन्देहीमा २८, कपिलवस्तुमा ४२ जना गरि १७१ जना कोरोना संक्रमित पुष्टि भएको छ । प्रदेश ५ मा १ जनाको कोरोनाबाट मृत्यु भएको छ । कर्णाली प्रदेश को दैलेखमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै सुदुरपश्चिमको कैलालीमा ४ र कञ्चनपुरमा १ गरी ५ जनामा संक्रमित पुष्टि भएको छ भने पाँचै जना निको भएर घर फर्केका छन् ।
हालसम्म सबैभन्दा कम उमेरका २ महिनाको शिशुमा र बढीमा ८१ वर्षिया बृद्धामा कोरोना पुष्टि भएको छ । सबैभन्दा बढी बाँके र पर्सा प्रभावित छन् । खुल्ला नाका भएर त्यहाँ भारतबाट चोरी नाका हुँदै आवतजावत भइरहेको छ ।
देशभर कोरोनाको आशंकामा ९४ जनालाई आइसोलेसनमा राखिएको छ । प्रदेश १ मा ४ जना, प्रदेश २ मा ६ जना, प्रदेश ३ मा ५९ जना, प्रदेश ५ मा १४ जना र प्रदेश ७ मा ११ जना गरि ९४ जनालाई आइसोलेसनमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
चैत ११ गते देखि देश नै ‘लकडाउन’मा छ । चैत ९ गते दोस्रो व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । चैतको अन्तिमसम्ममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । वैशाख अन्तिमसम्ममा २४३ जना पुगेका थिए । पछिल्लो पाँच दिनमा १३२ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ३७५ पुगेको छ । (नागरिकबाट)