जेठ १८, विराटनगर –
विराटनगरमा विगत २ महिनाअघिबाट सडक पेटिमा बस्नेहरुलाई निशुल्क खाना खुवाउँदै आएको युवाहरुको अभियानलाई नेकपाकी नेता नमिता न्यौपानेले १० लाख बराबरको कोभिड १९ बिमा गरिदिएकी छन् । अभियानको १० जना अभियन्तालाई एकएक लाखको दरले १० लाख बराबरको बिमा गरिदिएकी हुन् ।
जेनेरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडमा १० जना अभियन्तालाई नेता न्यौपानेको सहयोगमा कोभिड १९ बिमा गरिएको हो । प्रत्येक अभियन्तालाई एकएक लाखको बिमा गरिएको छ । अब बिमा गरिएको व्यक्तिलाई कोरोना संक्रमित पुष्टि भएमा एक लाख बराबरको बिमा रकम प्राप्त गर्नेछन्। न्यौपानेले यसअघि पनि अभियानको लागि खाद्यान्न सहयोग गरेकि थिईन् । कोरोना भाइरसको उच्च जोखिमका बाबजुद पनि युवाहरुले उदाहरणीय काम गरेको भन्दै आफुले अभियन्ताहरुका लागि कोभिड १९ विमा गरिदिएको न्यौपानेले बताईन्।
यता अभियानको नेतृत्व गरिरहेका युवा नेता ओसिम आलमले भने निशुल्क खाना खुवाउने अभियानको १० जना अभियन्तालाई एकएक लाखको बिमा गरिदिनु हाम्रो अभियानको लागि ठूलो सहयोग भएको बताउँदै उनले न्यौपानेलाई धन्यवाद प्रकट गरे । उनले भने, ‘ उहाँले यसअघि पनि हाम्रो अभियानको लागि आफै फोन गरेर खाद्यान्न सहयोग गर्नुभएको थियो। अहिले पनि आफै फोन गरेर तपाईहरुको अभियानमा लाग्ने १० जना अभियन्ताको बिमा गरिदिन्छु भन्नुभयो। हाम्रो अभियानलाई सहयोग गर्नुभएकोमा उहाँलाई धन्यवाद दिन चाहन्छु।” युवा नेता ओसिम आलमको नेतृत्वको समुहले विगत दुई महिनादेखि दैनिक ४ सय जना सडकपेटिमा बस्नेहरुलाई निशुल्क खाना वितरण गर्दै आएका छन् ।