जेठ १८ –
नेपालमा पछिल्लो २४ घन्टामा १ सय ६६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा अब कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ । यीमध्ये १ हजार ४ सय ५० जना पुरुष रहेका छन् भने १ सय १७ जना महिला रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार तनहुँमा १, स्याङ्जामा २, पर्सामा ५, कालिकोटमा १८, दैलेखमा १८, बाजुरामा ३, सल्यानमा २५, सुर्खेतमा १, कपिलवस्तुमा ५, बाँकेमा ८, सप्तरीमा १२, कैलालीमा ३, झापामा ४, मोरङमा १, धनुषामा २१, रौतहटमा २९, सर्लाहीमा १० जना कोरोना संक्रमित थपिएका हुन् ।
त्यस्तै नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाभाइरस बाट २ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
शनिबार राति दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना पोजेटिभ देखिएको थियो भने आइतबार बिहान बाजुरा जिल्ला अस्पतालमा ज्यान गुमाएकी दुई वर्षकी बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।
डा. देवकोटाका अनुसार अहिलेसम्म नेपालमा २२० जनाले कोरोनाभाइरसलाई जितेका छन् ।